देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काश्मीर प्रकरणमा मोदी–ट्रम्पबीच फोन कुराकानी

देशान्तर

काठमाडौँ । जम्मु काश्मीर मामिलामा संविधानको धारा ३७० हटाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीका क्रममा मोदीले पाकिस्तान र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नाम नलिइकन उनीहरुले तनाव फैलाएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री मोदीले क्षेत्रीय स्थितिको बारेमा चर्चा गर्दै केही नेता भारतको विरुद्धमा हिंस्रक भड्काउ बयानबाजीमा लागेको र त्यसो गर्नु क्षेत्रीय शान्तिको लागि फाइदाजनक नहुने समेत बताएका थिए ।

मोदी र ट्रम्पबीच यस्तो समयमा कुराकानी भएको छ जतिबेला ह्वाइट हाउसले हालै अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री खानबीच पनि टेलिफोन कुराकानी भएको जानकारी गराएको थियो । सो कुराकानीमा ट्रम्पले इश्लामावाद र नयाँ दिल्लीबीच संवादको लागि आग्रह गरेका थिए ।

यसकै सेरोफेरोमा अहिले ट्रम्पले मोदीसँग पनि कुराकानी गरेका हुन् । गएको शुक्रबार ह्वाइट हाउसको भनाई सार्वजनिक भएपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैसीले पाकिस्तानका प्रधानमन्त्रीले काश्मीरमा हालैका दिनमा भएका घटनाबारे चिन्ता व्यक्त गर्दै क्षेत्रीय शान्तिमा परेको खतराबारेमा अमेरिकी राष्ट्रपतिलाई जानकारी गराएको बताएका थिए ।

सोमबार अमेरिकासँगको कुराकानीका बारेमा भारतको प्रधानमन्त्रीको कार्यालयले ट्विट मार्फत जानकारी गराएको हो । ट्विटमा दुई जनाबीच ३० मिनेट कुराकानी भएको र सो अवसरमा दुईपक्षीय र क्षेत्रीय विषयमा छलफल भएको जनाइएको छ ।

सो कुराकानीमा भारत र अमेरिकाका अर्थमन्त्रीबीच पनि चाँडै वार्ता गर्ने बारेमा चर्चा भएको जनाइएको छ । मोदीले ट्रम्पसँगको कुराकानीका क्रममा आतंक र हिंसा मुक्त वातावरणमा जोड दिँदै सीमापार अपराधबाट बिना कुनै अपवाद दूर रहनु जरुरी रहेको जनाएका थिए ।

त्यस्तै मोदीले ट्रम्पसँग गरिबी, अशिक्षा र रोग विरुद्धको लडाईमा लाग्ने जोकोहीलाई सहयोग गर्न भारत तयार रहेको समेत जनाएका थिए । उनले ट्रम्पसँग अफगानिस्तानको स्वतन्त्रताको १०० वर्ष पुगेको चर्चा गर्दै स्वतन्त्र अफगानिस्तानलाई लोकतान्त्रिक, सुरक्षित र संगठित राख्ने कार्यका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरेका थिए । (बीबीसी)