देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक आज, जिल्लाबाट आयो यस्तो प्रतिवेदन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको पाँच महिनापछि तोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चैत्र १० गतेका लागि तोकिएको बैठक सभापति शेरबहादुर देउवाले आजको लागि सारेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठक बिशेषगरि स्थानिय तहको निर्वाचनको रणनीति बनाउनका लागि केन्द्रीत हुने बताइएको छ ।

स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालयले सवै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनीधिहरुले बुझाएको प्रतिवेदनमा आधारित रहेर निर्वाचनको रणनीति बनाउने बिषयमा छलफल हुने बताइएको छ । जिल्ला गएका केन्द्रीय प्रतिनीधिहरूले स्थानीय तहको निर्वाचनमा जाँदा भागबण्डाको आधारमा उम्मेदवार तय गर्दा पार्टीको अवस्था नाजुक हुने प्रतिवेदन दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका इमान्दार कार्याकर्ता र चुनाव जित्न सक्नेलाई उमेदवार बनाउनुपर्ने सुझाव समेत प्रतिवेदनमा दिएको बताइएको छ । यसका साथै प्रदेश नम्बर २ मा खटिएका प्रतिनीधिहरूले मधेशका मुद्दा छोडेर र संविधान संशोधन छोडेर स्थानिय तहको चुनाव जाँदा पार्टीलाई ठुलो घाटा हुने सुझाव दिएको केन्द्रीय कार्यालय स्रोतले दिएको छ ।

यसका साथै कांग्रेस प्रतिनिधिहरूले पार्टी सवैजसो जिल्लामा पार्टी पहिलो र दोश्रो पोजिशनमा रहेका र तराई बाहेकका पनि सवै जिल्लामा एमाले प्रतिष्पर्धी नभएको प्रतिवेदन बुझाइको बताइएको छ । केन्द्रले दिएको निर्देशन बमोजिम जिल्लामा पुगेर त्यहाँको अवस्था बुझेर फर्किएका प्रतिनीधिहरूले पार्टीं केन्द्रीय कार्यालयमा सवै जिल्लामा कांग्रेसको प्रतिस्पर्धी एमाले नभएको निषकर्ष निकालेका छन् । जिल्ला पुगेका प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था कस्तो छ, पार्टीका संरचनाले पूर्णता पाएका छन् कि छैनन्, विकासको काममा पार्टीको अवस्था कस्तो छ, आगामी चुनावमा प्रतिष्पर्धी कुन पार्टी छ, उसको अवस्था कस्तो छ आदि विषय समेटेर प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका छन् । केन्द्रीय प्रतिनिधिले बुझाएको रिपोर्टमा मधेसका धेरै जिल्लामा एमालेबाहेकका पार्टीसँग प्रतिस्पर्धा हुने देखाइएको छ । मधेशका अधिकांश जिल्लामा एमालेको अवस्था तेस्रो चौथो रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरि पहाडका केही जिल्लामा पनि एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी नभएको रिपोर्ट केन्द्रीय कार्यालयमा बुझाइएको छ । बागलुङ, गोरखा, रोल्पा, रुकुम, जाजरकोट, भक्तपुर जस्ता जिल्लामा पनि कांग्रेसको प्रतिस्पर्धी एमाले नभएको रिपोर्ट ति जिल्ला गएका केन्द्रीय प्रतिनीधिहरुले बुझाएका छन् । तर हाल सम्म प्रतिवेदन बुझाएका जिल्लाहरु कांग्रेस भने धेरैमा पहिलो र केहीमा दोश्रो पोजिशनमा रहेको देखाइएको छ । सवै केन्द्रीय प्रतिनिधिहरुले पार्टीभित्रको गुटबन्दीलाई स्थानीय चुनावमा समायोजन गर्न सकेमा पार्टी पहिलो पोजिशनमा पुग्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाएका छन् ।

यसैबीच लामो समयपछि पार्टी केन्द्रीय कार्यालयमा हुन लागेको बैठकमा नेतृत्वको चर्को आलोचना हुने भएको छ । संविधान संशोधन लगायतका महत्वपूर्ण विषयमा पार्टीभित्र छलफलै नगरी नेतृत्व अघि बढेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर प्रभावशाली केन्द्रीय सदस्यहरूले चर्को असन्तुष्टि जनाउँदै आएका छन । विगतमा आलोपालो नेतृत्व गर्ने गरी माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा समेत छलफल गर्ने बुझिएको छ । सरकारले जनतालाई नेपाली कांग्रेसको सरकार छ भन्ने अनुभुति गराउन नसकेको पौडेल पक्षको निष्कर्ष रहेको छ । यस्तै पौडेल पक्षका नेताहरुले स्थानिय तहको निर्वाचनका लागि मापदण्ड तयार गर्नुपर्ने विषय जोडदार रुपले उठाउने बताएका छन् । बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न शनिकार पौडेल पक्षिय नेताहरूको छुट्टै बैठक बसेको थियो ।

बैठकले पार्टीका तर्फबाट स्थानिय तहको निर्वाचनका उम्मेदवार तय गर्ने संसदीय बोर्ड गठनदेखि आम कार्यकर्ताले आफू अन्यायमा नपरेको महसुश हुने गरि स्थानीय तहको टिकट वितरण गर्नुपर्ने बिषय जोडदार ढंगले उठाउने निर्णय गरेको छ । शनिबार भएको पौडेल समुहको भेलाले सभापति देउवाले विधान अनुसार पार्टी संचालन गर्न नसकेको ठहर गर्दै सबै निकायलाई तत्काल पूर्णता दिन दबाब दिने तयारी थालेका छन् । पौडेल निकट नेताहरूलाई केन्द्रीय समिति बैठकमा अनिवार्य र प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिइएको छ । आन्तरिक छलफल नहुँदा राजदूतसहितका विभिन्न नियुक्ति सिफारिसले पार्टीको छवि धुमिल्याएको निष्कर्षका साथ यो बिषय केन्द्रीय समितिको बैठकमा उठाउने तयारी गरिएको छ । सम्बन्धित प्रदेशको नेतालाई त्यो क्षेत्र हेर्नेगरी जिम्मेवारी तोक्नु पर्ने माग पनि पौडेल पक्षले केन्द्रीय बैठकमा राख्ने भएको छ ।