देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनएसटीको चुनावमा अभूतपूर्व एकता, थापाले प्रदर्शन गरे त्यागको नमूना

देशान्तर

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुको साझा संस्था ‘नेपाली समाज टेक्सास’ (एनएसटी)को ११ औं कार्यकारी समितिको निर्वाचनमा अभूतपूर्व एकताको नमूना प्रदर्शन भएको छ । गत आइतबार सम्पन्न (एनएसटी)को निर्वाचनले सर्वसम्मत रुपमा दिनेश शर्माको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गर्‍यो ।

एनएसटीमा एकताको वातावरण निर्माण गर्न निवर्तमान अध्यक्ष सुमन थापा र भक्तवहादुर भण्डारी, अमित शर्मा लगायतका पूर्व पदाधिकारीहरुको त्यागको भावनाले काम गरेको थियो । अध्यक्ष थापा एनएसटीका लोकप्रिय अध्यक्षको रुपमा परिचित छन् । उनलाई अर्को कार्यकालका लागि पनि नेतृत्व लिन सदस्यहरुबाट दबाब आएपनि अन्तिममा उनले उम्मेदवारी नदिएर दिनेश शर्मालाई सर्वसम्मत बनाउने वातावरण निर्माण गरे ।

‘अध्यक्षमा थापालाई ९० प्रतिशत सदस्यहरुले फेरि एक कार्यकालका लागि एनएसटीको नेतृत्व सम्हाल्न आग्रह गरेका थिए । तर उहाँले प्रवासमा नेपालीहरुको एकता अपरिहार्य रहेको सन्देश दिन उम्मेदवारी दिनुभएन’, एनएसटीका एक सदस्यले देशान्तरसँग भने, ‘यसले नेपाली समूदायको एकतालाई अझ बलियो बनाएको छ ।’ टेक्सासमा नेपाली समुदायको इतिहासमै यसप्रकारको एकता पहिलो पटक प्रदर्शन भएको उनले बताए ।

सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले चयन भएका छन् । यसैगरी महासचिवमा भानु खरेल, सचिवमा हरि खड्का, कोषाध्यक्षमा मधुर खरेल, सहकोषाध्यक्षमा विवेक कँडेल निर्विरोध निर्वाचित भएका छन् ।

अमेरिकाको टेक्सास राज्य क्षेत्रफलका हिसावले अमेरिकाकै ठूलो राज्य मध्येमा पर्छ । यस राज्यमा नेपालीहरुको संख्या पनि अन्य राज्यको तुलनामा बढी रहेको बताइन्छ । एनएसटी टेक्सासमा रहेका नेपालीहरुको सबैभन्दा सक्रिय संस्था मध्येमा पर्दछ । विशेषगरी समाजिक गतिविधिमा सक्रिय यस संस्थाले नेपाली समुदायलाई आइपर्ने समस्याहरुको समाधानमा हातेमालो गर्दै आइरहेको छ ।