देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए पोर्चुगलमा काङ्ग्रेसको वर्चस्व, अध्यक्षमा गैरे

देशान्तर

लिस्बन (पोर्चुगल) । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए ।

आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए ।
सन २०१९–२१ कार्यकालका लागि अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार तिलक प्रसाद गैरेले करिब ३ मतान्तरले संयुक्त गठबन्धनका उम्मेदवार इश्वर रिजाललाई पराजित गरे । त्यस्तै, बरिष्ठ ऊपाध्यक्षमा काङ्ग्रेसका भिमसेन थापा चुनिए। उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए । दुई उपाध्यक्षमा काङ्ग्रेसका अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भए । उनीहरुले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेद्वार गणेश पाण्डेयलाई पराजित गरे ।

महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुबेदी चुनिए, कांग्रेसका उम्मेद्वार प्रकाश कडरिया पराजित भए । कोषाध्यक्षमा काङ्ग्रेसका बिक्रमजङ कुँवर र युवा संयोजकमा काङ्ग्रेसकै दिनेश भण्डारी बिजयी भए ।
यसअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला संयोजकमा सुशीला थापा, सचिबमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका १५ सदस्य पनि निर्विरोध भए ।

मतगणनापछि आयोजित समारोहमा नेपाली काङ्ग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तराष्ट्रीय परिषद् उपाध्यक्ष कुल आचार्यले सपथ ग्रहण गराए ।
पोर्चुगलमा नेपाली कांग्रेस समर्थित नेतृत्व सहित यति धेरै पदमा निर्वाचन भएको पहिलोपटक हो । कार्यक्रममा निर्वाचन समिति संयोजक अशोक घिमिरेले मत परिणाम घोषणा गरेका थिए ।

घोषणा समारोहमा काङ्ग्रेस नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवा भावका आधारमा काम गर्न निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सुझाव दिए । उनले गैर आवाशीय नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे ।

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवाशीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयास बारे जानकारी दिए । उनले संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताउँदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे । करिब २५ हजारको संख्यामा नेपाली पोर्चुगलमा रहेको अनुमान छ । संघमा भने करिब २१ सय सदस्य छन् । ती मध्ये १३९८ सदस्यले मतदान गरेका थिए ।