देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक वर्षमै दोब्बरले बढ्यो काठमाडौं उपत्यकाको मूल्य वृद्धि

देशान्तर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, असोज मसान्तसम्मको उपभोक्ता मुद्रास्फिति काठमाडौंमा ८.१४ प्रतिशत पुगेको छ । कात्तिकसम्म काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले बताएको छ ।

एक वर्षअघि अर्थात् ०७५ असोज महिनामा उपभोक्ता मुद्रास्फिति काठमाडौं उपत्यकामा ४.० प्रतिशत, तराईमा ४.३ प्रतिशत, पहाडमा ६.१ प्रतिशत र हिमालमा ४.२ प्रतिशत रहेको थियो ।

औसतमा समेत उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ५.५५ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले बताएको छ ।