देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिताबारे कांग्रेसले आयोगको  ध्यानाकर्षण गराउने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ ले निर्वाचन आचारसंहिताका बारेमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समन्वय समितिले शुक्रबार आयोगको नेतृत्वलाई भेटेरै आचारसंहिताका बारेमा ध्यानाकर्षण गराउने भएको हो ।

संयोजक लेखकले शुक्रबार उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगका पदाधिकारीलाई भेटेरै ध्यानाकर्षण गराउन लागिएको जानकारी दिए । उनका अनुसार कांग्रेसको समन्वय समिति र आयोगका पदाधिकारीबीच दिउँसो दिउँसो ३ बजे छलफल हुने भएको छ ।

छलफलका क्रममा समितिले आयोगसँग आचारसंहिता जारी भएपछि सरकारले प्रदेश प्रमुखहरुको बर्खास्तगी र नयाँ नियुक्तिका विषयमा पनि पार्टीको धारणा राख्ने संयोजक लेखकले बताए । यसअघि कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेर प्रदेश प्रमुखको बर्खास्तगी र नियुक्तिमा निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रष्टकरणप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

निर्वाचन आचारसंहिताको परिच्छेद—४ को ९ मा ‘नयाँ पद सृजना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख गरिएका भए पनि कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर आयोगले उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुने कांग्रेसको ठहर छ ।