स्पन्दनका स्पन्दनलाई स्पर्श गर्दा - eDeshantar News

स्पन्दनका स्पन्दनलाई स्पर्श गर्दा

  • 12
    Shares

आजको नेपाली गजल परिष्कार र परिमार्जनको दिशामा अग्रसर छ । सवा सय वर्ष लामो इतिहास बोकेको नेपाली गजलले तथापि आजसम्म आफ्नो मानक र मार्ग दुवै तय गरिसकेको छैन । यसर्थ पनि नेपाली गजल आजका मितिसम्म अन्योल, अलमल र विवादमा रुमल्लिइरहेको छ ।

युवाकवि मोतीराम भट्टले हिन्दी साहित्यबाट नेपाली साहित्यमा भित्र्याएको गजल त्यसताका भने यसको वास्तविक स्वरूप र शास्त्रीय संरचनामै भित्रिए पनि त्यसपछि र विशेषगरी पुनर्जागरण (२०३६) यता भने शास्त्रीय संरचनालाई तोड्दै र आधारभूत पक्ष लयलाई पूर्ण रूपमा बेवास्ता गर्दै अगाडि बढ्यो, जसको रहलपहल असर अद्यापि देखिन्छ ।

गजलका बारेको अध्ययन, खोज र प्रशिक्षणमा नितान्त कमी, केही हिन्दी र उर्दूका गजलका शेर पढेर, सुनेर आफूअनुकूल विश्लेषण गर्ने परम्परा, गजललाई आयातीत विधाका रूपमा हेर्ने सरकारी निकायका ‘प्राज्ञ’ तथा समालोचक, विश्लेषक र प्राध्यापकहरूको ‘अपरिपक्व’ सोच आदिका कारण पनि नेपाली गजलले आफ्नो वास्तविक रूप देखाउन सकेन भने निकै लामो समयसम्म ‘ओठ निचोर्दा दूध आउने’ वयका केटाकेटीले लेख्ने, प्रेम–प्रणयका कुण्ठा लेख्ने, ‘वनमारा झार’ आदिका रूपमा गजल रह्यो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको तहबाट आउने यस्ता अभिव्यक्तिले उनीहरूको अध्ययन र बुझाइको स्तर अनुमान गर्न सहजै सकिन्छ । यस्तै यस्तै कारण नेपाली गजललाई आफ्नो स्वरूप ग्रहण गर्न समय लागिरहेको हो ।

अहिले नेपाली गजल नेपालमा मात्र नभएर विश्वका प्रायः मुलुकमा लेखिँदै आएको छ, जहाँ नेपालीहरू पुगेका छन् । र, यसरी पढाइका लागि वा कमाइका लागि विदेशमा रहेका नेपालीहरूले समग्र नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा नै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसरी नेपाली भाषा, साहित्यलाई प्रवासमै रहेर माया गर्ने एक स्रष्टा हुन्, स्पन्दन विनोद ।

युरोपमा रहेर दैनिक गुजाराका कर्म गर्दै बचेको समय नेपाली भाषा, साहित्यमा समर्पण गर्ने स्पन्दन विनोद आफैँमा सिर्जनशील र जिम्मेवार स्रष्टा हुन् । अध्ययन र साधना दुवैलाई एकसाथ अगाडि बढाउँदै आएका उनले विशेषगरी गजललेखनमा आफूलाई बढी समर्पित गर्दै आएका छन् । गजल परिष्कार अभियान चलिरहेका बेला उनको ध्येय पनि नेपाली गजलको शास्त्रीय पक्षको खोजी गरेर वास्तविक र स्तरीय गजल लेख्ने रहेको देखिन्छ । यसै क्रममा उनले पछिल्लो समय आफूलाई शास्त्रीय बहरमा पनि उत्तिकै अभ्यस्त गराउँदै आएका छन् तर प्रस्तुत कृति भने उनले गैरबहरमा रचना गरेका छन् ।

उसो त गजलको शास्त्रीयताले बहर वा शास्त्रीय छन्दलाई गजलको काफियाजत्तिकै अनिवार्य तत्व मान्छ । गजल लेखनका लागि फारसीमा निर्मित र प्रचलित शास्त्रीय छन्दहरू हुन् बहर । यति (विश्राम) र गति (प्रवाह)को एकरूपता लय हो । यही लय समानताका लागि निर्मित छन्द नै बहर हुन् । गजल अर्धशास्त्रीय गेय विधा पनि भएकाले गजलमा लय अनिवार्य मानिएको हो । गाउनका लागि उचित र स्वाभाविक लय सिर्जनामा हुनुपर्ने भएकाले गजलका लागि बहर निर्माण भएका हुन् । त्यसो त वाचनमै पनि छन्द वा बहरमा रचना गरिएका सिर्जना सहज र स्वाभाविक हुने गर्छन् ।

जे होस्, गजलका लागि रदिफ, काफियाको संयोजनले मात्र हुँदैन, उत्कृष्ट गजल सिर्जनाका लागि उचित शब्दचयन, उचित काफिया, रदिफ र काफियाको प्रभावकारी संयोजन, प्रभावकारी प्रस्तुति शिल्प, चामत्कारिक शेर संयोजनसँगै लयको एकरूपता वा छन्द, बहरको पालना पनि हुनुपर्छ । यो तथ्यलाई स्पन्दनले पक्कै बुझेका छन् ।

तर म उनको यो पुस्तकभित्र छिरेर पढिरहँदा निकै अलमलमा छु कि गजलका आधारभूत कुराहरू वा गजलको न्यूनतम शास्त्रीयता बुझेका स्पन्दनले किन यो गैरबहरबद्ध कृतिचाहिँ पहिला प्रकाशन गरेका छन् ? के यसलाई वा यहाँ भएका रचनालाई पनि केही समय मिहिनेत गरेर परिमार्जन गरेर बहरबद्ध बनाएर पछि प्रकाशन गरे हुँदैनथ्यो ?

यद्यपि, सन्तान जुनसुकै रूप, रङ र आकारको भए पनि माया उत्तिकै हो । यो स्पन्दनको सन्तान हो र उनको सन्तानको संरक्षण गर्नु उनको प्रमुख दायित्व पनि हो । यसर्थ स्पन्दनको यस कृति (मानसिक र बौद्धिक सन्तान) लाई स्वागत गर्दै आगामी दिनमा अझ सशक्त सिर्जना उनीबाट आऊन् भन्ने कामना गर्छु ।
अन्त्यमा, मलाई मन परेका केही पंक्तिहरू :

‘चित्त शुद्ध होस् अनि बोली बुद्ध होस्’ भन्छन्
जात–धर्मका नाउँमा बुद्धभूमि युद्धतिर हाँकेका छन् ।
………..
जिउँदै छु अझै म भन्ने भान गराउँदै छस्
हेर देउता ! तँ आफ्नै अपमान गराउँदै छस्

तँलाई ढुंगा हुँदा नि पुजेर मातेको होलास्
त्यसैले निर्मम पाप जानाजान गराउँदै छस् ।
………..
जालीझेली रीतिरिवाज यहाँ चल्ने गर्छ
पराइले होइन आफ्नैले आँखा छल्ने गर्छ ।
……………
घरको याद आउँदा सधैँ रुन्छ परदेशी
के दसैँ, के तिहार, एक्लै हुन्छ परदेशी ।
…………….
चढाएर फूलपाती गरेँ पूजा मनमनै
‘स्पन्दन’ हौ तिमी मेरो श्रद्धा–सुमनको ।

संगीन ती तिम्रा नजरका वाणले
मर्न खोजेँ तर फिक्का त जहर भो ।
……………..
बाह्रै महिना विकासका नाममा, मात्र बाटो खन्छ सरकार
बाढी पस्यो भन्दा, ‘हाम्ले ल्याएको हो र ? भन्छ सरकार

सानातिना प्रश्न नसोध भन्छ, धम्क्याउँछ जनतालाई
घोटाला भयो कि भन्दा प्रतिकारमा उत्रन्छ सरकार

जाति, धर्म के–केका नाम, जनता जुधाएर–लडाएर
आफैं सदन चलाई आफैँ प्रतिपक्षी बन्छ सरकार ।
……………..
मेरै मुटुमा बसेर मलाई नै धड्काइदिन्छे
यौटी छे, जो जिताइदिन्छे र बधाई दिन्छे

तुसारोले यो मन चिसिएको बेला प्रिया
छुस्स नजर जुधाएर आगो सल्काइदिन्छे

हो, यही कुरा मनपर्छ मलाई उसको
म भोकै सुत्दा ऊ याद बोकी आइदिन्छे

जिन्दगीका सिँढीहरू मनै लाग्दैन उक्लन
ऊ उकालोलाई पनि ओरालो बनाइदिन्छे

लडेको हुन्छ ‘स्पन्दन’ शून्यताको चितामा
ऊ सती जान्छु भन्छे, समाज उभ्याइदिन्छे ।


  • 12
    Shares

Facebook Comments