साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित - eDeshantar News

साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

  • 12
    Shares

काठमाडाैँ । साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्‍यो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।

नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन् । यस्तै, रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन् । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । नेपालका तीन खेलाडी खाता खोल्न नै पाएनन् ।

जवाफमा बंगलादेशले बिना विकेटको क्षतिमा सात ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन् ।


  • 12
    Shares

Facebook Comments