समय जहाँको त्यहीँ छ– हरिवंश आचार्य (भिडियोसहित) - eDeshantar News

समय जहाँको त्यहीँ छ– हरिवंश आचार्य (भिडियोसहित)

हरिवंश आचार्य, वरिष्ठ कलाकार

  • 715
    Shares

आजकल केमा व्यस्त हुनुहुन्छ ?

काम पनि छैन, फुसर्द पनि छैन जस्तो पनि हैन । काम छ अलिअलि र फुसर्द चाहिँ ठ्याम्मै छैन । स्टेजको कार्यक्रम अलि कम भएको छ । कार्यक्रमका लागि पटकथा तयार गर्नुपर्छ । त्यो काम अलिअलि भइरहेको छ । त्यस्तै नयाँ चलचित्रको तयारी गर्दैछौं । मैले भनेका यी कामहरू बाहिर देखिँदैनन् । पर्दा पछाडिका काम गरिरहेका छौं । अहिले पछि देखिने कामको गृहकार्य गरिरहेका छौं भनौं ।

तपाईहरु (मह जोडी) पछिल्लो समयमा आएर रंगमञ्चमा भन्दा फिल्म निर्माणतिर केन्द्रित हुनुभएको हो ?

त्यस्तो हैन । हामीले पछिल्लो समयमा दुईवटा फिल्म त बनायौं, एउटा शत्रु गते र अर्को दाल भात तरकारी । शत्रु गते बनाएको तीन वर्ष जति भयो, दाल भात तरकारी बनाएको एक वर्ष जति भयो । त्यसअघि धेरै वर्ष अगाडि फिल्महरू बनाएका थियौं । धेरैजसो हामी रंगमञ्चतिरै व्यस्त थियौं । अहिले रंगमञ्चको प्रस्तुति अलि कम भएको हो, हुँदै नभएको होइन ।

अलि कम मात्रै हैन रंगमञ्चबाट तपाईहरू हराइसक्नुभयो भन्ने गुनासो आम दर्शकबाट सुन्ने गरिन्छ ?

हामी (मह जोडी) पहिलेदेखि नै धेरै कार्यक्रम गर्ने मान्छे होइनौं । भौतिक रूपमा सधैं रंगमञ्चमा उपस्थित हुनको लागि गाह्रो पनि छ । किनभने रंगमञ्चमा सशरीर उपस्थित हुनुपर्छ । शरीर सधै एकैनासको हुँदैन । शरीरलाई रेस्ट चाहिने बेला पनि हुन लागेको छ । त्यो कारणले पहिले जस्तो सक्रिय हुन गाह्रो छ । रंगमञ्चको प्रस्तुति काठमाडौंमा मात्रै होइन, काठमाडौंभन्दा बाहिर पनि हुन्छ । देशका विभिन्न भागका साथसाथै विदेशमा पनि कार्यक्रम प्रस्तुत गर्नुपर्छ । त्यसरी संसारभरि दौडिनलाई गाह्रो पनि भएको छ, केही कारणहरूले गर्दा ।

पछिल्लो पटक रंगमञ्चमा कहिले देखिनुभयो ?

रंगमञ्चमा हामीले तीन वर्ष अगाडि मञ्चन गरेको नेवारबहादुर, बाहुनबहादुर हो । यो प्रस्तुतिलाई हामीले युट्युबमा राख्यौं । त्यसलाई युट्युबमा ३० लाख पटक हेरिएको छ । भनेपछि त्यसलाई कमसेकम ५० लाख मानिसले हेर्नुभएको होला । त्यसले गर्दा हामी फेरि दर्शकमाझ रिन्यु भयौं जस्तो लागेको छ । हामी दैनिक रूपमा एक्टिभ नभए पनि इलेक्ट्रोनिक मिडियाको कारणले गर्दा दर्शकबाट ओझेल परेका छैनौं ।

भने पछि अहिले तपाईहरूको लागि युट्युब नै ठूलो मञ्च बनेको छ ?

हो, एकदमै ठूलो । युट्युबमा अहिले तपाईं म कुरा गर्दैगर्दा पनि कतिले हाम्रो कार्यक्रम सर्च गरेर हेरिरहनुभएको होला । पहिलेभन्दा अहिले समय पनि परिवर्तन भयो । सधैं आफैं मञ्चन हुनु पर्दैन, गरेको कामहरू घरघरमा मानिसको अनुकूल समयमा हेर्ने सुविधा प्राप्त भएको छ । यसको फाइदा हामी कलाकारहरूलाई भएको छ । र, युट्युबको सन्दर्भमा म के पनि भन्छु भने, ४० वर्षदेखि मैले र मदन दाइले सहकार्य गरेर कार्यक्रमहरू गर्‍यौं । तीमध्ये ८० प्रतिशत कार्यक्रमहरू अहिले युट्युबमा हेर्न पाइन्छ । त्यो नभएको भए हाम्रो अस्तित्व नै सकिन्थ्यो होला । जस्तो हामीभन्दा अग्रज कलाकारहरूले रंगमञ्चमा मञ्चन गरेका कार्यक्रमहरूको रेकर्ड नै छैन अहिले । हामी यस्तो समयमा जन्मियौं कि टेलिभिजन पनि हाम्रै जमानामा आयो, निजी क्षेत्रको रेडियो, पत्रपत्रिका पनि हाम्रै समयमा आयो । त्यस हिसाबले हामी अलि भाग्यमानी पनि रहेछौं भन्ने लाग्छ । सबै खाले आधुनिक मिडियाको फाइदा हामीले लिन पाएका छौं । अघिल्ला पुस्ताले त्यो स्वाद पाउनु भएन ।

अर्को कुरा, नेपाल टेलिभिजन, रंगमञ्चमा हामीले जति कार्यक्रमहरू गर्‍यौं त्यसलाई अर्काइभ गर्ने हामीसँग सिस्टम राम्रो छैन । किनभने अर्काइभमा निश्चित तापक्रम मेन्टेन गरेर राख्नुपर्छ । त्यो नहुँदा पुरानो प्रोगामहरूको भिजुअल क्वालिटी नै बिग्रिन पुग्यो । युट्युबमा हामीले ती कार्यक्रमहरू राख्न पाएको हुनाले अहिलेका पुस्ताले पनि हाम्रा पुराना कार्यक्रमहरू हेर्न पाउनु भएको छ । यसले गर्दा १०–१५ वर्षका किशोरकिशोरी, बालबालिकाहरूले पनि हामीलाई चिन्न थाल्नु भएको छ । त्यसकारण समयले नयाँनयाँ प्रविधि जन्माइदियो । त्यसको उपयोग हामीले गर्न पाएका छौं । पुरानो हुनु परेको छैन ।

अब बूढो भइयो जस्तो लाग्दैन ?

उमेर गन्ने हो भने बूढो भइयो तर वृद्धभत्ता खानेबेला भइसकेको छैन । त्यतातिर अगाडि बढ्दैछौं । शारीरिक रूपमा म एक्टिभ नै छु । जस्तो मलाई तुरुन्तै थकाइ लाग्दैन, दौडधुप गर्न सक्छु । त्यसैले म के भन्छु भने उमेरले मात्रै मान्छे बूढो हुँदैन । जस्तो आदरणीय सत्यमोहन जोशीज्यूलाई हामीले बूढो भन्न मिल्छ ? एक सय दुई वर्षको मान्छे, अहिले पनि बोल्न थाल्नुभयो भने उभिएर एक घन्टा निर्वाधरूपमा बोल्न सक्नुहुन्छ । त्यस्तै राष्ट्रकवि माधव घिमिरेज्यूलाई हेर्नुस्, उहाँ अहिले महाकाव्य लेखिरहनुभएको छ । कामको निरन्तरता जहिलेसम्म हुन्छ त्यो बेलासम्म मान्छे बूढो हुँदैन । काम गर्न नसकेको दिनमा मान्छे बूढो हुन्छ जस्तो लाग्छ ।

तर कलाकारिताको यात्रा धेरै लामो भयो । पछाडि फर्केर हेर्दा कस्तो लाग्छ ?

मदन दाइ र मेरो समय जोड्ने हो भने ८० वर्ष भएछ (हाँसो), ४० वर्ष मेरो ४० वर्ष उहाँको । तर समय जहाँ थियो त्यही नै छ जस्तो लाग्छ । समय खासै अगाडि बढ्न सकेको छैन । समय केमा मात्रै बढेको छ भने, ट्राफिक जाममा, धुवाँधुलोमा । यी चिजहरूमा समय एकदमै स्पिडमा बढेको छ । अरू कुरामा हामीले कलाकारिता सुरु गर्दा जहाँ थियो त्यही नै छ । हामीले ४० वर्ष अगाडि गरेका व्यंग्यहरू अहिलेकै समयलाई गरेको हो कि जस्तो लाग्छ ।

तर तपाईंहरूले त पञ्चायत भोग्नु भयो, बहुदल भोग्नुभयो, अहिले गणतन्त्र पनि भोग्दै हुनुहुन्छ समयकालअनुसार व्यवस्थाको नाम त फरकफरक छ नि ?

नाम त जे राखे पनि भयो नि ! टेलिफिल्ममा मेरो नाममा कुनैमा भैरे हुन्छ, कुनैमा रामे हुन्छ । हुन त परिवर्तन हुँदै नभएको पनि होइन । देशमा एउटै जहानले शासन गर्ने प्रथाको अन्त्य भयो । मलाई कस्तो लाग्छ भने हाम्रो देश हामीले मात्र चलाएको देश हैन रहेछ ।

पशुपतिनाथले चलाएको देश भन्न खोज्नु भएको ?

पशुपतिनाथले पनि हैन, यो देश छिमेकीले चलाइदिएको, युरोपियन युनियनले चलाइदिएको जस्तो लाग्छ । त्यसकारणले जो नेता, जुन व्यवस्था आए पनि चाहेको जसरी काम गर्न र व्यवस्था लागू हुन गाह्रो छ । किनभने यत्रा ठूलो भूगोलको बीचमा रहेका हामी चेपुवामा परेका छौं । केही देशहरूले हाम्रो उन्नति प्रगति नहोस् भन्ने चाहन्छन्, हाम्रो देशमा समृद्धि नआओस् भन्ने चाहन्छन् । हाम्रो देशमा गृहयुद्ध मच्चियो भने यहाँ टेकेर अरु देशलाई डिस्ट्रब गर्न पाइन्छ भन्ने सोचाइ पनि पाइन्छ । र त्यही अनुरूपमा यहाँका राजनीतिज्ञहरूलाई आफू अनुकूल बनाउन खोज्छन् र कोही कोही अनुकूल पनि भइदिन्छन् । यसरी नै चलिरहेको छ हाम्रो देश ।

भनेपछि व्यवस्था परिवर्तनले तात्विक भिन्नता केही पनि भएको छैन, हैन ?

भिन्नता नभएको पनि होइन । बोल्न पाइएको छ । बोल्न त जसले जे बोले पनि पाइरहिएको छ । मज्जाले गाली गर्न पाइन्छ । पहिलेपहिले हास्यव्यंग्य गर्दा त्यो हास्यव्यंग्य हुन्थ्यो । अहिले हास्य गाली भइरहेको छ । अहिले नामै तोकेर फलानो फलानो भनेर गाली गरिन्छ । त्यसले हास्यव्यंग्यको स्तरलाई ओरालो झारेको छ ।

व्यंग्य कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

व्यंग्य भनेको यस्तो हुनुपर्छ, मैले तपाइंलाई व्यंग्य गरे पनि त्यसले तपाईंको चित्त नदुखोस्, रिस नउठोस् बरु तपाईंलाई हाँस उठोस् क्या ! अहिले बोल्न पाइन्छ, गाली गर्न पाइन्छ, तथानाम भन्न पाइन्छ । मर्यादाको ख्याल गरिँदैन । हास्यव्यंग्य हेर्‍यो भने, व्यंग्यकारले बाउलाई व्यंग्य गरिराहुन्छन्, जजहरूलाई गाली गरिराख्या हुन्छ । मर्यादा, अनुशासन कम भएको जस्तो लाग्छ । त्यसलाई अब गणतन्त्र भन्ने कि प्रजातन्त्र भन्ने ? के भन्ने ? मेरो विचारमा त्यसलाई छाडातन्त्र अलि सुट गर्छ होला ।

तपाईं त लेखकको रूपमा पनि प्रकट भइसक्नुभएको छ, अहिले लेखन यात्रा कहाँ पुगेर रोकिएको छ ?

जब मैले रंगमञ्चमा पाइला टेकेँ, त्यो बेलामा पहिले पटकथा लेखेँ । त्यही चिजलाई घोकेर, अभ्यास गरेर रंगमञ्चमा प्रस्तुत गर्‍यौं । यस हिसाबले हाम्रो लागि लेखनको माध्यम सबैभन्दा जेठो हो । हामीले लेखेको यमलोक, अंशबन्डा, रद्दीको टोकरी, वनपाले, चिरञ्जीवी, १५ गते, लालपुर्जा आदि राम्रा साहित्य हुन् । मेरो विचारमा १५ गते एउटा राम्रो उपन्यास हो । लालपुर्जा पनि एउटा उपन्यास हो । सुर बेसुर एकदम राम्रो उपन्यास हो । तर टेलिभिजनमा आएर मात्र लेखक भइँदोरहेनछ । किताब निकालेपछि लेखक भइँदो रहेछ ।

तर चिना हराएको मान्छे आत्मकथा लेखेपछि मात्रै तपाईंलाई लेखकको रूपमा हेरियो नि, हैन ?

हो, त्यसपछि लेखक भइयो । त्यसपछि हरिबहादुर लेखें । अहिले अर्को पनि लेख्दैछु । ४०–५० प्रतिशत जति लेखिसकेँ । तर पूरा हुन अझै एक, डेढ वर्ष लाग्छ होला । त्यसपछि किताबको रूपमा केही चिज आउँछ । र अर्को कुरा मदन दाइ र मैले रंगमञ्चमा प्रस्तुत गरेका प्रहसनहरूलाई हामीले पुस्तकको रूप दिने प्रयास पनि गरिरहेका छौं । हाम्रा कामहरूलाई छानेर गर्दा पनि करिबकरिब ६०० पेज जतिको ठेली तयार हुँदो रहेछ । कम्तीमा पनि सय सय पेजको किताब बनाएर निकाल्यो भने पनि ६ वटा जति किताब बन्ने रहेछ । त्यसको सम्पादनको काम भइरहेको छ । ती पुस्तकहरू आएपछि मेरो विचारमा नेपालको हास्यव्यंग्यको स्थिति, नेपालको राजनीतिक स्थिति, त्यो बेलाको परिस्थिति कस्तो थियो भन्ने पछिल्लो पुस्ताले पढ्न पाउनुहुन्छ । र कुनैकुनै हास्यव्यंग्य पछिल्लो पुस्ताले मञ्चन गर्न पनि मिल्ने खालका पनि छन् । जुनसुकै समयमा मञ्चन गर्दा पनि त्यसको आनन्द लिन सकिन्छ । ती प्रहसनहरूलाई हास्यव्यंग्य नाटकको रूपमा नेपाली पाठकहरूलाई चढाउँदैछौं ।

तपाईंहरू (मह जोडी) पछिल्लो समयमा फिल्म, रंगमञ्चभन्दा विज्ञापनमा बढी देखिन थाल्नुभयो भन्ने गुनासोजन्य आरोप आम दर्शकबाट सुन्ने गरिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

आरोप त कसरी भन्नु ? चोरेको हैन, ठगेको हैन ? विज्ञापन गर्नु भनेको पनि आर्टिस्टको लागि प्रोमोसन हो जस्तो लाग्छ । भारतमै हेर्नुस्, अमिताभ बच्चन जस्तो ठूलो आर्टिस्टले विज्ञापन गर्नुभएको छ । उहाँको देशमा इज्जत घटेको छैन । हाम्रो देशमा चाहिँ विज्ञापन खेल्यो भने इज्जत घट्छ भन्ठान्छौं । तर त्यो हैन, त्यसले हाम्रो कमर्सियल भ्यालु रहेछ भन्ने बुझिन्छ । र अर्को कुरा, हाम्रो देशमा नेपालकै आर्टिस्टहरूको होर्डिङ बोर्डहरू, पेपर एडहरू होस्, अहिले विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लगाउने निर्णय सरकारले गरेको छ, एउटा राम्रै हो भन्ने लाग्छ । नेपाली कलाकारहरूको लागि राम्रो अवसरको रूपमा त्यसलाई लिनुपर्छ जस्तो लाग्छ । हामीले गर्ने विज्ञापनहरू धेरैजसो नेपाली उत्पादनकै हुन्छन् । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नु भनेको नेपाली उद्योग फस्टाउनु हो, नेपालीका छोराछोरीले रोजगारी पाउनु हो । विज्ञापनमा खेलेर आर्थिक रूपमा हामीलाई पनि राम्रो भएको छ, देशलाई पनि राम्रै भए जस्तो लाग्छ ।

अहिलेको समग्र कलाकारिता क्षेत्रलाई चाही यहाँले कसरी हेर्नु भएको छ ?

नेपाली कला क्षेत्रको राम्रो विकास भएको छ । पहिले हामी रंगमञ्चमा मात्र सीमित थियौं । तर अहिले विद्युतीय माध्यममा पनि कलाकारिता देखाउन पाइन्छ । चलचित्रको बजार पनि विस्तार भएको छ । राम्रो चलचित्र बनाउन सक्यौं भने धेरै राम्रो बजार बनेको छ । नेपालमा बनेका केही चलचित्रहरूले भारतमा बनेका अर्बौं बजेटका चलचित्रसँग प्रतिस्पर्धा मात्रै होइन उनीहरूको भन्दा राम्रो व्यापार गरेर नेपालमा टिकिरहेका छन् । प्राविधिक रूपमा पनि हामी राम्रो हुँदै गएका छौं । संसार नै डिजिटलमय भएको छ, नेपाल पनि त्यसमा पछि छैन । प्राविधिक रूपमा पनि हाम्रा चलचित्रहरू राम्रो बन्न थालेका छन् । सिनेमा हलहरूको गुणस्तर पनि वृद्धि भएको छ । नेपाली सिनेमा हलमा बस्दा पाइन्टमा चुइगम टासिएला कि भन्ने डर हुन्थ्यो, कुनैबेला । किल्लाले पाइन्ट च्यातिदेला कि भन्ने डर हुन्थ्यो । तर अहिले आरामदायी हलहरू बनेका छन् । पहिले पहिले २०–३० रुपैयाँ थियो टिकटको दाम । मैले १६ पैसामा पनि सिनेमा हेरेको छु, जय नेपालमा । कन्सेसनमा हेर्दा फोर्थ क्लासको १६ पैसा तिरेको थिएँ । अहिले तीन, चार सय रुपैयाँ तिरेर दर्शकहरू सिनेमा हेर्नुहुन्छ र त्यसअनुसारको फाइदा निर्मातालाई पनि भएको छ । रंगमञ्चमा पनि राम्रो विकास भएको छ । दुई–तीन सय दर्शक अट्ने थिएटरहरू अहिले काठमाडौंमा मात्र होइन कि जिल्लाहरूमा पनि खुल्न थालेका छन् । र रंगमञ्च यस्तो ठाउँ हो, नेपाली कलाकारिताको लागि आमाको काँख जस्तै लाग्छ, मलाई । किनकि त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ । दर्शकको अगाडि प्रोगाम दिन सक्ने एउटा आँटको विकास हुन्छ । कलाकारको कन्फिडेन्स बढ्छ । रंगमञ्चबाट आएका कलाकारहरूले चलचित्रमा राम्रो स्थान ओगट्न सक्नु भएको छ ।

विकास भएको कुरा गर्नुभयो, बिग्रिएको कुरा पनि केही होलान् नि ?

बिग्रिएको कुरा मैले अघि भनेँ, हास्यव्यंग्यको स्तर घटेको कुरा । त्यसबाहेक मलाई एउटै खेद के लागेको छ भने पहिलेपहिले प्रज्ञा भवनमा धेरै नै मात्रामा कलाकारिताको गतिविधि हुन्थ्यो । अहिले त्यो ठ्याम्मै छैन । पहिलेपहिले प्रज्ञा भवनमा ड्रामा हुन्थ्यो, गीति नाटक हुन्थ्यो, विदेशी राष्ट्र प्रमुखहरू आउँदा एकेडेमीका कलाकारहरूले प्रस्तुति देखाउँथे । नाचघरका कलाकारहरूले दिनका दिन प्रस्तुति दिन्थे । अस्ति चीनका राष्ट्रपति आउँदा प्रज्ञा भवन, नाचघरको कलाकारभन्दा पनि सशस्त्र प्रहरीका, आर्मीका कलाकारहरूले प्रस्तुति दिनुपर्‍यो । हुन त उहाँहरू पनि कलाकार हो । उहाँहरूले कलाकारितालाई थामी दिनुभएको छ । तर एकेडेमी, नाचघरजस्ता कलाको मन्दिरमा व्यावसायिक कलाकारहरूले गर्ने कामहरू निष्क्रिय भएको देख्दा दुःख लाग्छ । सरकारले हात हालेका ठाउँहरू सबै बिग्रिनै पर्ने कस्तो विडम्बना हो जस्तो लाग्छ । कागज कारखाना, छाला जुत्ता कारखाना, जुट मिल सबैको हालत त्यस्तै छ । केही चिजमा पनि सरकारले हात हाल्यो कि कुही हाल्ने । के छ कुन्नि त्यो हातले छोएपछि जे चिज पनि बिग्रिने ?

किन यस्तो भएको होला जस्तो लाग्छ ?

थाहा छँदैछ नि, सोध्नै पर्दैन । त्यसको प्रमुख कारण सुशासनको कमी, भ्रष्टाचारको चरम नमुना प्रदर्शन होे । कुनै पनि भ्रष्टाचारीलाई राज्यले कारबाही गर्न नसक्नु यसको कारण हो ।

तर सरकारमा बसेकाहरू सुशासन र समृद्धिबाहेक अरू कुरै गर्दैनन्, तपाईं सुशासनको कमी छ भन्नुहुन्छ ?

सरकारले त भन्नु परिहाल्यो नि । यो सरकारले मात्र हैन पहिलेका सरकारले पनि अनेकअनेक नारा लगाएकै हुन् । तर नारा लागू हुन सकेनन् । हुन त राजनीतिबारे नकारात्मक कुरा मात्र नगरौं । एक–दुईटा राम्रा कामहरू पनि भएका छन् । जसरी बिजुलीको विकास भएको छ त्यो राम्रो काम हो जस्तो लाग्छ । कुनै समय थियो काठमाडौं उपत्यकालाई मात्र जेनेरेटर बाल्न १६ अर्ब रुपैयाँको डिजेल आयात गर्नुपथ्र्यो, एक महिनामा । तर अहिले हामी बिजुली बेच्न सक्छौं भन्ने ठाउँमा पुग्न लागेका छौं । त्यसकारण केही आशाको कुराहरू पनि छन् । धेरै नकारात्मक कुरा मात्रै मिडियाबाट गर्‍यौं भने नेपालीहरू झन् निराश हुन्छन् । सडकको स्थिति हेर्दा, अन्य छिमेकी देशको तुलनामा हामी खस्केका छैनौं भन्ने लाग्छ । सवारी साधनको पहुँच गाउँगाउँमा पुगेको छ । त्यस्तै छिमेकीकै कारणले किन नहोस् नेपालीहरूको लुगा लगाईमा प्रगति भएको छ । पहिले पहिले टालेका, च्यातिएका लुगाहरू लगाएका मानिसहरू प्रशस्तै भेटिन्थे । अहिले कम देखिन्छ । हिजो अस्ति मात्रै म बजार गएको थिएँ, रत्नपार्कमा सात सय रुपैयाँमा ज्याकेट बेचिरहेको भेटेँ । जाडो थेग्ने ज्याकेट सस्तैमा भेटिन्छ आजकल । तर खाद्यान्न चाहिँ उल्कै महँगो छ । खाद्यान्नको कुरा गर्दा त तलबको तुलनामा एकदमै महँगो भएको छ । अमेरिकामा भन्दा नेपालमा चामल महँगो छ, कुखुराको मासु महँगो छ ।

हास्यव्यंग्यकै कुरा गरौं । अहिले कलाकारले भन्दा नेताले बढी हास्यव्यंग्य गर्न थाले भन्ने सुनिन्छ । कस्तो लाग्छ यो भनाइ सुन्दा ?

सिद्धि भएको हास्यव्यंग्य नेताहरूले गरे भने त राम्रो हो नि । सेन्स अफ ह्युमर अर्थात् हास्यचेत नेताहरूमा हुनुपर्ने गुण हो जस्तो लाग्छ मलाई । केही नेताहरूको हास्य चेत राम्रो छ । त्यो चिज हुनु भनेको नराम्रो हैन ।

हास्य चेत राम्रो भएका नेताहरू कोको छन् जस्तो लाग्छ, तपाईलाई ?

अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको कुरा गर्नुस्, उहाँमा प्रशस्त हास्य चेत छ । उहाँले बोल्दाखेरि अब के बोल्नुहुन्छ भन्ने कौतुहलता जाग्छ । र सबैभन्दा हास्य चेत भएको नेता मलाई कृष्णप्रसाद भट्टराई जस्तो लाग्छ । कुनै कलाकारलाई हामी कस्तो नाट्यश्वरले बास गरेको अनुहार रहेछ भन्छौं नि, अनुहारमा नाट्यश्वरले बास गरेपछि हिसी देखिन्छ भनिन्छ, केपी भट्टराईसँग पनि त्यो गुण थियो ।

उहाँको कस्तो कुरा सम्झिँदा हास उठ्छ, केही याद छ ?

उहाँको निष्पक्षता, कोहीसँग डराउनु हुँदैनथियो, चित्त नबुझेको कुरा भन्दिने बानी राम्रो थियो । नराम्रो काम गर्नेलाई गाली नै गर्नुहुन्थ्यो । मिडियामा त मुख छोडुनुहुन्नथियो तर अनौपचारिक रूपमा त मुखै छोडेर गाली गर्नुहुन्थ्यो । सेन्स अफ ह्युमरको कुरा गर्दा भारत भ्रमणमा जाँदा उहाँले त्यहाँको मिडियाहरूसँग गरेका कुराहरू याद आउँछ । हाँसीहाँसी गम्भीर कुरा उठाउनु हुन्थ्यो । उहाँमा सरस्वतीले बास गरेको गुण जस्तो लाग्छ मलाई ।

अहिलेका नेताहरूमा व्यंग्य कस्नुपर्ने नेताहरू को को छन् जस्तो लाग्छ तपाईँलाई ?

व्यक्तिगत नाम तोकेर नभनौं । कदर गर्न मन लाग्ने नेताहरू पनि हुनुहुन्छ । नेता भन्नासाथ सबै बदमासै भए भन्यौं भने हामीसँग आशा भन्ने चिज नै नरहँला । राजनीतिको विकल्प राजनीति मात्रै हो । त्यसकारण राजनीतिलाई काम लाग्दैन भनेर धेरै बदनाम गर्‍यौं भने अर्कै पक्षलाई फाइदा होला । इज्जत गर्न मिल्ने नेताहरू पनि हुनुहुन्छ, मुखै हेर्न मन नलाग्ने नेताहरू पनि हुनुहुन्छ ।

हास्यव्यंग्यको पात्र र केन्द्र जहिले पनि राजनीति र नेता हुने गर्छन् नि, हैन ? तपाईंहरूले पनि त्यही गर्नु भएको छ ?

नेता मात्रै हैन अरू पनि हुन सक्छन् । जस्तो जापानीहरूले हास्यव्यंग्य गर्दा नेतालाई भन्दा बढी समाजलाई केन्द्र बनाउँछन् । यो पनि देशअनुसारको फेसन हुँदो रहेछ । हामीकहाँ बढी राजनीति केन्द्रमा हुने गर्छ । हामीले नै सुरु गरेको हो भन्दा पनि फरक नपर्ला । त्यो बेला नेतालाई व्यंग्य गर्नुपर्ने बेला थियो, हामीले गर्‍यौं । त्यही चिज अहिले पनि निरन्तर भइरहेको छ । त्यहाँभन्दा बाहिर जान सकेको छैन । तर हास्यव्यंग्य नेतामा मात्र केन्द्रित भएर बस्दा मोनोटोनस हुन्छ । त्यसको ब्रेक टेलिभिजन हास्यव्यंग्यबाट गर्न सकिन्छ । जस्तो हामीले लालपुर्जा बनायौं, त्यसमा नेतालाई कहीँ पनि व्यंग्य गरिएको छैन । १५ गते त्यस्तै छ । सामाजिक कुरीति, कुसंस्कारहरूलाई पनि व्यंग्य गर्न सकिन्छ । त्यो चाहिँ अहिले अलि कम छ । किनभने त्यसमा बढी मेहनत गर्नुपर्छ । अहिले मेहनत गर्ने चलन खासै छैन । इन्स्ट्यान्ड भन्छन् नि जे चिज पनि चाउचाउ जस्तो दुई मिनेटमा चाहिन्छ ।
– विनय देवकोटा, देशान्तर साप्ताहिक


  • 715
    Shares

Facebook Comments