‘शेरबहादुजीले मसँग चित्त दुखाउनुपर्ने कुनै कारण छैन’ - eDeshantar News

‘शेरबहादुजीले मसँग चित्त दुखाउनुपर्ने कुनै कारण छैन’

डा. शेखर कोइराला, नेता, नेपाली कांग्रेस

  • 3
    Shares

नेपाली कांग्रेसले दसैंअघि दोस्रो राष्ट्रिय जागरण अभियान सम्पन्न ग¥यो । अभियानको क्रममा तपार्ईं विभिन्न जिल्लाहरूमा पुग्नुभयो । तपाईंको मूल्यांकनमा दोस्रो राष्ट्रिय जागरण अभियान कस्तो रह्यो ?

जागरण अभियानका क्रममा सबै निर्वाचन क्षेत्रहरूमा सिनियर कार्यकर्ताहरू, सांसद्हरू पुग्नुभयो । यसले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई केही चलायमान अवश्य पनि बनाएको छ । तर, यतिले मात्रै पुग्दैन । जागरण अभियान नराम्रो भयो म भन्दिनँ, राम्रै भयो, तर यसलाई अझ राम्रोसँग अगाडि बढाउन सकिन्थ्यो । किनभने जागरण अभियानका क्रममा म नुवाकोट गएको थिएँ । त्यहाँका साथीहरूले सबैभन्दा पहिला तपाईंहरु जागृत हुनुस्, हामी त जिल्ला, गाउँमा जागृत छँदैछौं भन्नुभयो । त्यसैले हामीहरू एक ढिक्का कसरी हुने ? किनभने अहिले कम्युनिस्टको दुई तिहाइ बहुमतको सरकार छ । योसित लड्न त्यति सजिलो छैन । त्यसका लागि हामीहरू एक ढिक्का भएर, भ्रातृ संस्थाहरूलाई पनि चलायमान बनाएर जान जरुरी छ ।

पहिलो राष्ट्रिय जागरण अभियानकै क्रममा प्रश्नहरू उठेका थिए यसको औचित्यलाई लिएर । तपाई आफैं पनि सन्तुष्ट देखिनुहुन्न । यस्तो हुँदाहुँदै जागरण अभियानको ‘नाटक’ चाहिँ किन रचियो होला ?

नाटक त म भन्दिनँ । जागरण अभियानले केही पनि गरेन भन्ने पनि हैन । तर पार्टीको संरचनाहरू नै नबनिसकेको अवस्थामा यस्को सोचेजस्तो प्रभावकारिता भएन कि भन्ने हो । संरचना नबन्दा नेपाली कांग्रेसका धेरै साथीहरू कुनै काम नपाएर बस्नु परेको छ । हामीहरूले प्रदेशको संरचना बनाउन सकेका छैनौं । जबकि १४औं महाधिवेशनको बेला आइसक्यो । हामीले यसबेलासम्म विभागहरू गठन गर्न सकेनौं । अब गठन गरेर के फाइदा ? भ्रातृ संस्थाहरूलाई हामीले चलायमान बनाउन सकेनौं भने पार्टीलाई जतिसुकै अगाडि बढाउन खोजे पनि सक्दैनौं । भ्रातृ संस्था पार्टीको नर्सरी हो । नर्सरीलाई नै हामीले समाप्त पार्न खोज्यौं भने त नेपाली कांग्रेस स्वयं धरापमा पर्छ ।

परिवर्तित राज्य संरचनाअनुसार पार्टीको संगठन संरचना निर्माण गर्ने अनि भ्रातृ संस्थाहरूको समस्या समाधान गर्नेमा तपाईंहरू केन्द्रित हुनुपर्ने हो । तर किन हुन सकिराख्नु भएको छैन ?

तपाईले जुन कुरा उठाउनुभयो हामीहरूले पनि केन्द्रीय समितिका बारम्बार यो कुरा उठाएका छौं । नेविसंघ विघटन भएको ६–७ महिना बितिसक्यो । यति लामो समयसम्म नेविसंघलाई विघटित अवस्थामा राख्नु हुँदैन थियो । किनभने नेपाली कांग्रेस अहिले कमजोर अवस्थामा छ । यस्तो अवस्थामा भ्रातृ संस्थाहरूबाट पार्टीले ऊर्जा प्राप्त गर्न सक्छ । तर, भ्रातृ संस्थामा कुन मान्छेलाई राख्दा मलाई व्यक्तिगत फाइदा हुन्छ भनेर सोच्न थाल्नुभयो भने ऊर्जा आउँदैन । भ्रातृ संस्थालाई ऊर्जादिने हो भने अधिवेशनबाहेक अर्को उपाय छैन । तदर्थ समितिबाट भ्रातृ संस्था चलाउँछु भनेर नेतृत्वहरूले सोच्नु भएको छ भने त्यसरी भ्रातृ संस्थाहरू अगाडि जाँदैन भन्ने कुरा हामीले बुझ्नु पर्छ । अहिलेको समस्या यही नै हो ।

भ्रातृ संस्थाको गठन, पार्टीको संगठन संरचना निर्माणसँगै अब १४औं महाधिवेशनको समय पनि आउन लागिसकेको अवस्था छ । यस्ता विषयहरूमा पार्टीभित्र के कसरी छलफल भइराखेको छ ?

पार्टीको पछिल्लो केन्द्रीय समितिमा संरचनाहरूको गठन पूरा भएपछि महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउने भन्ने कुरा भएको छ । अब संरचना कसरी बनाउने भन्ने प्रश्न यथावत् छ । तदर्थ समिति बनाएर प्रदेशको संरचना बनाउने पक्षमा म छैन । किनभने फेरि भागबन्डा गर्नुहुन्छ उहाँहरूले (नेतृत्व वर्गले) । भागबन्डा गरेर नेपाली कांग्रेस बलियो हुँदैन । पार्टीलाई मजबुत गर्ने हो भने प्रदेश समिति गठनका लागि अधिवेशन नै गर्नुपर्छ । यो गर्न एकदम सजिलो छ । नेपाली कांग्रेसका अहिले भएका महाधिवेशन प्रतिनिधिहरूले भोट हालेर प्रदेशको कार्यसमितिहरू बनाउन सकिन्छ । तर, यसो गर्न नेतृत्वमा रहेकाहरू चाहनुहुन्न । उहाँहरू आआफ्नो वर्चस्व राख्नको लागि तदर्थवादमा जान खोजिरहनु भएको छ । भ्रातृ संस्थाहरूको पनि अधिवेशनतिर जानुपर्छ । अधिवेशन नगरेर तदर्थ समितिमा फेरि जानुभयो भने समस्या ज्यूँका त्यूँ रहन्छ र संगठनको हिसाबले पार्टी कमजोर भएर जान्छ । संरचना कस्तो बनाउने भन्ने कुरा टुंगिसकेको छ । विजय गच्छदारजीको एकता प्रक्रियाले पनि पूर्णता पाइसकेको छ । अब यदि नेतृत्वले चाहने हो भने आज–भोलि नै केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जान सकिन्छ ।

महाधिवेशन समयमै सम्पन्न हुन सम्भव छ र ? अहिलेको संस्थापन त कार्यकाल लम्ब्याउन लागिपरे जस्तो देखिन्छ ?

जो अहिले पार्टीका पोजिसनहरूमा हुनुहुन्छ, उहाँहरू धेरै खटेर, दुःख गरेर यो ठाउँमा पुग्नुभएको हो । नेपाली कांग्रेस अहिले कमजोर छ, संगठन लथालिंग छ भन्ने कुरा उहाँहरूले नबुझ्नुभएको म भन्दिनँ । यो कुरा मैले बुझाइरहनुपर्ने आवश्यकता छैन । नेपाली कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन, अहिलेको कम्युनिस्ट सरकारसित लड्न अहिलेको नेतृत्वबाट सम्भव छैन । त्यसैले १४औं महाधिवेशन छिटोभन्दा छिटो भयो भने त्यसले नयाँ नेतृत्व र पार्टीलाई नयाँ दिशा दिन्छ । नयाँ नेतृत्वले नेपाली कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सक्छ । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन सकिन्छ, प्रदेश र केन्द्रको निर्वाचनमा पनि जिताउन सकिन्छ । हाम्रो पार्टी सरकारविरुद्ध एकदमै सुस्त र द्विविधाग्रस्त तवरले हिँड्दैछ भन्ने कुरा तपार्इं मिडियाहरूले नै भनिरहनु भएको छ । नेपाली कांग्रेस सडकमा पनि देखिँदैन, संसद्मा पनि देखिँदैन भन्दै हुनुहुन्छ । त्यसैले पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउन समयमै महाधिवेशन एकमात्र विकल्प हो भन्ने मलाई लाग्छ ।

त्यसो भए के वर्तमान नेतृत्व फेलियर नै भएको हो त ?

हैन फेलियर म भन्दिनँ । उहाँहरूले एउटा कालखण्ड वा भनौं कार्यकालमा उहाँहरूले पार्टीलाई यहाँसम्म पुर्याउनु भयो । पार्टीमा योगदान दिनुभएको छ । यसलाई म कदर गर्छु, सम्मान गर्छु । तर अब अहिलेको कम्युनिस्टसित लड्नको लागि, २१औं शताब्दीको प्रजातान्त्रिक समाजवादको निम्ति अहिलेको नेतृत्वले पार्टीलाई लिड गर्न सक्दैन । राजनीतिमा सधैं एउटै व्यक्तिको औचित्य रहिरहन्छ भन्ने हुँदैन । एउटा कालखण्ड र कार्यभार पछि त्यो व्यक्तिको उपयोगिता समाप्त भएर जान्छ । नयाँ परिवेशले नयाँ नेतृत्वको माग गर्छ ।

तर अबको महाधिवेशनबाट पनि यही नेतृत्व फेरि नदोहोरिएला भन्ने के ग्यारेन्टी छ र ?

मलाई त्यस्तो लाग्दैन । किनभने नेपाली कांग्रेसका साथीहरू, कार्यकर्ताहरू जो जिल्लामा हुनुहुन्छ, उहाँहरूले अत्यन्तै गम्भीर भएर पार्टी नेतृत्वको मूल्यांकन गरिरहनुभएको छ । गाउँमा कम्युनिस्टहरूले दिएका पीडा उहाँहरूले भोगिरहनुभएको छ । म त घुमिराख्या छु नि । त्यसकारण उहाँहरू स्पष्ट हुनुहुन्छ, यसचोटी गुटगत हिसावले भोट जाला जस्तो मलाई लाग्दैन । होला, केही प्रतिशत भोट जाला । तर प्रवृत्तिगत हिसाबले त्यस्तो रहँदैन भन्नेमा म ढुक्क छु ।

तपाई पार्टीमा गुट हुनुहुँदैन भन्नुहुन्छ । तर पार्टीभित्र अहिले पनि गुटगत समूहको भागबन्डा र लेनदेनमै कुरा अड्किराखेको छ । नयाँ संरचना बनाउने विषयमा पनि सहमतिको कुरा उठाइएको छ । यसरी त गुटको अन्त्य हुन सम्भव छ र ?

गुट हुँदै हुँदैन म भन्दिनँ । गुट हुन्छ, हुनु पनि पर्छ तर त्यो वैचारिक धरातलमा उभिएको हुनुपर्छ । विचारको राजनीति गर्नुपर्छ । विचारको गुट हुनुपर्छ । म तपाईंलाई एउटा घटना बताउन चाहन्छु । बीपी कोइराला जब प्रवासमा हुनुहुन्थ्यो, उहाँले सशस्त्र क्रान्ति गर्नुपर्छ भन्नुभयो र जहाज अपहरणलगायतका कामहरू भए । त्यसमा म पनि गएँ । म भारतमा मेडिकल पढ्दै थिएँ त्यसबेला । त्यहीबेला सुवर्णजी राजासित पनि संवाद गर्दै हुनुहुन्थ्यो र भारतसित पनि संवाद गर्दै हुनुहुन्थ्यो । त्यसैबेला उता किशुनजीले नख्खु जेलमा बसेर म राजासित पनि संवाद गर्दिनँ र भारत निर्वासनमा पनि जान्न भन्नुभयो । उहाँ जेलैमा बस्नुभयो । विचारको राजनीति भन्या त्यो हो । तर उहाँहरूको बीचमा फाटो आएन । अहिले के छ ? अहिले विचार हैन व्यक्तिलाई हेरेर गुट बनिरहेको छ । यो असल मान्छे र यो खराब मान्छे हैन कि यो मान्छेलाई मैले ल्याउनु पर्यो, यसले मलाई मद्दत गरेको छ भनिन्छ । उसले कति योगदान गरेको छ, कति दुःख गरेको छ, हेरिँदैन । जनतासित कति भिजिरहेको छ, त्यो मतलव छैन नेताहरूलाई । जिल्ला जिल्लाका कार्यकर्ताहरूले यो कुरा राम्ररी बुझेका छन् । यो सबै कुरालाई ध्यान दिँदै म चाहिँ कुनै गुटमा छैन र लाग्दिनँ । म बरु मिलाउने प्रयास गर्छु । मिल्छ भने ठीक छ, मिल्दैन भने विचारको गुटमा हामी जानुपर्छ । अहिले कस्तो अवस्था छ भने, जुन नियमावली हामीले प्रस्ताव गरेका छौं त्यसमा अनुशासनको नाममा विचारमै बन्देज लगाउने प्रावधानहरू राखिएका छन् । एकातिर हामीहरू लोकतन्त्रको कुरा गर्छौ, अर्कातिर विचारमा बन्देज लगाउन खोज्छौ । लोकतन्त्रमा त विचारको स्वतन्त्रता त हुनुपर्छ कि पर्दैन ? विचारको स्वतन्त्रता भएन भने कसरी पार्टीको सिद्धान्त उदार लोकतन्त्र कायम हुन्छ ? यो कुरालाई हामीले ध्यान दिन जरुरी छ ।

तपाईले म कुनै पनि गुटमा छैन भन्नुभयो । तर तपाईंसित एउटा पारिवारिक विरासत त छ नि । आफूलाई त्यसको बेनिफिट हुने देखेर पो तपाईंले गुटको विरोध गर्नुभएको हो कि ?

सुशील दा सभापति हुँदा पनि पार्टीमा कुनै कुरा विधिसम्मत भइराखेको छैन भने म केन्द्रीय समितिमा विरोध गर्थें । सुशील दा यो तपाईंले ठीक गर्नुभएन भन्थें । जबकि मैले सुशील दालाई भोट दिएको हो । राजनीति गर्ने के को लागि ? नेताहरूले भनेका सबै कुरालाई हामीहरूले हात उठाएर समर्थन गर्ने हो भने किन केन्द्रीय समिति चाहियो । एकजना मान्छे मात्रै भए पुगिहाल्यो नि । त्यो बेला सुशील दा पनि रिसाउनुहुन्थ्यो मसित । तिमीले यस्तो भन्यौं, किन भनेको भन्नुहुन्थ्यो । तर म भन्थें, यो कुरा म स्वीकार्न सक्दिनँ । तपाईंले तरुण दल भंग गर्नु हुँदैनथियो, महिला संघ भंग गर्दिनुभो, गर्नु हुँदैन थियो भन्ने मान्छे म हो । आज शेरबहादुरजीले त्यही गर्नुभयो भने त्यो कुरा त म भनिहाल्छु नि । सुशील दाको विरोध गर्दा शेरबहादुरजी बडा खुसी हुनुहुन्थ्यो, शेखरले बोल्यो, धन्यवाद भन्नुहुन्थ्यो । तर आज त्यही काम शेरबहादुजीले गर्दाखेरी मैले बोलें भनेर उहाँले चित्त दुखाउनुपर्ने कारण छैन ।

मैले कुरा गर्दै थिएँ पारिवारिक विरासतको ?

हो, हामी कोइराला परिवारमा जन्मियौं । अहिले त्यो परिवारबाट हामी तीन जना राजनीति गर्दैछौं । लिगेसी छैन म भन्दिनँ, लिगेसी छ । तर राजनीतिमा लिगेसी मात्र सबै कुरा हैन । दोस्रो, हामीबाट पनि, अझ भनौं बीपीकै पालादेखि केही कमीकमजोरी भए होलान् । गिरिजाबाबुको पालामा पनि भयो होला, सुशील दाको पालामा पनि भयो होला । हामीबाट त झन् धेरै भइराखेको होला । त्यसलाई सच्याएर हामीले लग्नुपर्ने आवश्यकता छ । किनभने लोकतन्त्र अब बच्छ कि बच्दैन भन्ने समस्या म देखिराखेको छु । लोकतन्त्रको लागि कोइराला परिवार कुनै पनि किसिमको सम्झौता कोहीसँग गर्दैन– त्यो पार्टीभित्र होस् वा पार्टी बाहिर होस । पार्टीभित्र पनि लोकतन्त्र छैन म भन्दैछु र त्यसलाई बचाउनको निम्ति हामी लड्छौं, भिड्छौं । र बाहिर पनि लड्छौं । लिगेसी भन्ने कुरा त छ, त्यसलाई हामीले अस्वीकार गरेर त हुँदैन । तर म लिगेसीमा धेरै विश्वास गर्दिनँ, कर्ममा गर्छु ।

तपाईं महाधिवेशनमा केन्द्रित भइसक्नुभएको छ। महाधिवेशनको लागि तपाईंले के तयारी गरिरहनुभएको छ ?

म जिल्ला घुम्दैछु, साथीभाइहरूसँग भेट्दैछु । र, काठमाडौंमा भएको बेला सिनियर साथीहरूसँग पनि भेटघाट भइराखेको छ । यसचोटीको अवस्था कस्तो देखिन्छ भने नेपाली कांग्रेसमा कसैगरी पनि क्याप्चर गरेर नेतृत्व हत्याउँछु भन्ने सोच बनाउनु भएको छ भने त्यसले नेपाली काग्रेसलाई फाइदा गर्दैन । नेपाली काग्रेस कस्तो पार्टी रहेछ भने, बीपीले कसरी बनाउनुभएको रहेछ भने, नेपाली कांग्रेस कमजोर भयो भने लोकतन्त्रै कमजोर हुने रहेछ । र लोकतन्त्र कमजोर भयो भने देश कमजोर हुन्छ । यो कुरालाई पनि हामीले विचार गर्नुपर्छ । दोस्रो कुरा, सरकारमा त हामी अहिले छैनौं । केही समय अघि म चीन पुगेर आएँ । त्यहाँ बीआरआईको कुरा गर्दा नेपाली कांग्रेस के भन्छ, उसले कत्तिको सपोर्ट गर्छ भन्ने चिनियाँ चासो पाएँ । नेपाली कांग्रेसले सपोर्ट नगरेमा बीआरआई नेपालमा अघि बढ्दैन भन्ने उनीहरूको बुझाइ छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय साख त्यो रूपमा छ भनेपछि त्यसलाई बचाउने जिम्मेदारी त हाम्रो हो नि । अहिलेको नेतृत्वहरूले खाली आफ्नो मान्छेहरूलाई प्रवद्र्धन गर्ने नाममा पार्टीलाई कमजोर बनाउने काम गर्नुभएको छ ।

आगामी महाधिवेशनलाई लिएर कोइराला परिवारभित्र कस्तो खालको सहमति बनेको छ ?

हैन । कोइराला परिवारभित्र मात्र हैन, कोइराला परिवारभित्र त हामी पारिवारिक सदस्य भएको नाताले हाम्रो भेटघाट बाक्लै हुन्छ, भेटघाट हुँदा घरायसी कुरा मात्र पक्कै हुँदैन होला । तर त्यतिले मात्र पुग्दैन । अन्य वरिष्ठ साथीहरूसित पनि छलफल बाक्लो बनाएको छु ।

कोइराला परिवार महाधिवेशनमा प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुन्छ ?

त्यसमा शंका नगर्नुस ।

तर शेखर कि शंशाक भन्ने खालको चर्चा त छ नि ?

त्यो त आउँछ हेर्नुस् । त्यो स्वभाविक हो । किनभने हामी तीनजना राजनीति गर्दैछौ, सुजाता, शशांक र म, अब कोही साथीहरू सशांकसित नजिक होलान्, कोही सुजातासित र कोही मसँग, त्यो आफ्नो ठाउँमा छ । तर हामी एक ढिक्का हुन्छौं भन्ने कुरा कार्यकर्ताहरूले बुझ्न जरुरी छ, बुझाउन जरुरी छ ।

प्रसंग बदलौं । वर्तमान सरकारप्रति नेपाली कांग्रेस यति धेरै नकारात्मक हुन आवश्यक छ र ?

एउटा कुरा त के छ भने यो सरकारले लोकतन्त्रलाई समाप्त गर्न थालेको जस्तो मैले बुझेको छु । मलाई त्यस्तो आभास भइराखेको छु । र गणतन्त्र पनि के हुने हो भन्ने चिन्ता मलाई लागिराखेको छ । संघीयता के हुने हो भन्ने चिन्ता लागेको छ । यो चिन्ताको पुष्टि त अस्ति प्रधानमन्त्रीजी स्वास्थ्यउपचारको लागि सिंगापुर जानुभन्दा दुई दिन पहिले सर्वदलीय बैठक बोलाउनुले नै गरेको छ । बैठकमा प्रधानमन्त्रीले गणतन्त्र र संघीयता नै धरापमा पर्न थालेको हो कि, पूर्व राजा ज्ञानेन्द्र र विप्लव नेतृत्वको माओवादीले दुईटै कुरालाई समाप्त गर्न थालेको हो कि भनेर चिन्ता गरेको समाचार आए । मलाई के लाग्छ भने गणतन्त्र जान्छ भने सरकारको कारण जान्छ र संघीयता जान्छ भने सकरारको कारण जान्छ । समावेशिता जान्छ भने सरकारको कारण जान्छ । सरकारले राम्रो काम गर्यो भने मात्रै राजावादीहरू खुम्चिँदै जान बाध्य हुनेहुन् । तर सरकारको काम गराई ठीक नभएपछि त्यो असन्तुष्टि क्यास गर्न राजावादीहरू बढ्न थाल्छन् । प्रधानमन्त्रीजी आफैं भन्नुहुन्छ, संघीयता धरापमा परेको छ भनेर । संघीयता उहाँ आफैं चाहनुहुन्छ कि हुन्न भन्ने शंका उत्पन्न भएको छ । सीडीओलाई सबैभन्दा धेरै पावर दिनुको अर्थ के हो ? कुन चाहिँ संघीयतामा जिल्ला जिल्लाका सीडीओले सीधै संघको गृह मन्त्रालयमा रिपोर्ट गर्छ ?
तपाईहरूकै पार्टीभित्रबाट धर्मको विषयलाई लिएर व्यापक रूपमा कुरा उठिराखेको छ । यो विषयमा तपाईंहरूको धारणा आउन हुने अनि संघीयताको विषयमा, अन्य विषयमा बहस चल्दा के फरक पर्यो ?

धर्म निरपेक्षताको विषयमा नेपाली कांग्रेसभित्र बहस छैन भन्दिनँ म । महासमितिको बैठकमा आएको छ । महामन्त्रीजीले पनि उठाउनुभएको छ, अन्य साथीहरूले पनि केन्द्रीय समितिमा उठाउनुभएको छ । र, अब आउँदो महाधिवेशनमा धर्मको विषयले अझ बढी बहसमा आउँछ भन्ने मलाई लाग्छ । त्यस्तो किन भयो, त्यतातिर हामीले जानुपर्यो नि त । यसमा पनि राज्यलाई म दोष दिन्छु । संविधानमा लेखेको कुराहरूलाई राज्यले पालना गर्नुपर्छ कि पर्दैन ? संविधानमा उल्लेख छ– धर्मनिरपेक्षता भनेको सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने भनिएको छ नि त । संविधानको यो प्रावधानलाई राज्यले पालना गर्नुपर्छ कि पर्दैन ? यसमा राज्य चुकिरहेको तपाईंहरूले देख्नुभएको छ नि । सबैभन्दा खतरनाक कुरा, तपाई संविधानमा जेसुकै लेख्नुस् तर प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भनेर लेखिएको छ, यसको लागि राज्यले के के पहल गरेको छ भन्दाखेरी केही पनि छैन । प्रधानमन्त्रीजी आफैं गएर होली वाइन खानुहुन्छ । सरकारले त संविधानलाई पालना गरेर हिँड्ने हो नि त ।

तपाईंले धर्मको विषयमा संविधानको भावनाको कुरा गर्नुभयो, तर कांग्रेसभित्रबाट हिन्दु राज्य हुने कि धर्म निरपेक्षता हुने भन्ने विषयमा जनमत संग्रहको कुरा उठेको छ नि ?

एउटा कुरा, जनमत संग्रह गर्नु राम्रो हो । तर जनमतसंग्रहले पेन्डोराज बक्स खुल्छ भन्ने कुरा पनि बुझ्नुस् । धर्मको निम्ति मात्रै जनमत संग्रह सीमित हुँदैन, धेरै कुराको निम्ति जनमत संग्रह हुन्छ । जनमत संग्रह गर्नलाई संविधानमै लेखेको छ, संसद्को दुई तिहाइ बहुमतले पास गर्नुपर्छ । हामीहरू २० प्रतिशत पनि छैनौं । अनि हामीहरूले जनमत संग्रह गरौं भनेर मान्छ कसैले ? बोल्दिएर मात्र हुन्छ ? कसरी हुन्छ जनमत संग्रह ?

तर कांग्रेसका महामन्त्री लगायतका नेताहरूले यो कुरा उठाइरहनुभएको छ ?

जसजसले जनमत संग्रह भनिराख्नुभएको छ, उहाँहरूलाई गएर सोध्नुस् जनमत संग्रह हैन, संविधान बनाउने बेलाको जनमत संकलनको पुर्जा मात्रै खोल्दिनुस,् परिणाम के छ भनेर । त्यसले नै पुगिहाल्छ नि । त्यतिबेलाको जनमत संकलनको परिणामको कुरा कसैले गर्दैन । त्यो पोका आजसम्म खुलेको छैन । त्यो पोका खोल्नलाई कुनै नेता तयार छैनन् । अनि जनमतसंग्रहको कुरा गर्ने ? त्यो गलत हो ।


  • 3
    Shares

Facebook Comments