विवाद र आरोप–प्रत्यारोपबीच एनआरएनए अधिवेशन - eDeshantar News

विवाद र आरोप–प्रत्यारोपबीच एनआरएनए अधिवेशन


काठमाडौं । निकै चर्चा र उत्साहबीच काठमाडौंको हायात होटलमा सुरु भएको एनआरएनएको नवौं महाधिवेशन विवाद र आरोप/प्रत्यारोपबीच नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । मतदाता सूची र मतदान प्रक्रियामा देखिएको चर्को विवादका कारण एकदिन लम्बिएर अधिवेशन सम्पन्न भएको हो । विवादका बीच सम्पन्न अधिवेशनले कुमार पन्तको नेतृत्वमा ४६ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनपूर्व निकै बलियो उम्मेदवार भनेर प्रचारित कुमार पन्त र उपविजेता कुल आचार्यबीचको मतान्तर ३ प्रतिशत मात्र रह्यो । हालाकी अधिवेशनको पूर्वसन्ध्यामा पन्तको ७० र आचार्यको ३० प्रतिशत प्रक्षेपण गरिएको थियो । चुनावी नतिजामा भने पन्त ५३ र आचार्य ४७ प्रतिशत मत ल्याउन सफल भए ।

घोषित परिणामअनुसार सदर मतमध्ये अध्यक्षका उम्मेदवार कुमार पन्तले १२ सय १७ र कुल आचार्यले एक हजार ७० मत प्राप्त गरेका थिए । पन्तले आचार्यलाई एक सय ४७ को झिनो मतान्तरले जितेका हुन् । त्यसैगरी उपाध्यक्षमा मन केसी, डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ र सोनाम लामा विजयी भएका छन् । महिला उपाध्यक्षमा रविना थापाले झन्डै चार सय मतान्तरले कुमार पन्त प्यानलकी उम्मेदवार सफिला राजभण्डारीलाई पराजित गरेकी छिन् । त्यसैगरी महासचिवमा झिनो मतान्तरले पन्त प्यानलका डा. हेमराज शर्माले जानकी गुरुङलाई पराजित गरे । त्यसैगरी सचिवमा गौरीराज जोशी र आरके शर्मा विजयी भएका छन् । कोषाध्यक्षमा दुवै प्यानलमा परेका महेश श्रेष्ठ भारी मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल निर्वाचित भएका छन् । महिला संयोजकमा भुमादेवी लिम्बू निर्वाचित भएकी छन् । त्यसैगरी अमेरिका संयोजक राजन त्रिपाठी, सहसंयोजकमा आरसी पोखरेल र महिला सहसंयोजकमा उमा कार्की थापा विजयी भएका छन् । युरोप संयोजकमा भने नारायण आचार्य विजयी भएका छन् ।

विवादैविवादबीच सम्पन्न अधिवेशन
एनआरएनएको इतिहासमै यो नवौं अधिवेशन सबैभन्दा विवादित बन्यो । निर्वाचन समिति वरिष्ठ कानुनविद् बनाउनुपर्नेमा सचिवालयले कर्मचारीलाई नै निर्वाचनको प्रमुख आयुक्त र सदस्य बनाएकोमा अधिकांश मतदाताहरू असन्तुष्ट देखिए । सचिवालयको हालिमुहाली गर्ने महासचिव नै उम्मेदवार भएकाले उनकै इशारामा निर्वाचन समिति परिचालित थियो भन्ने सबैको गुनासो थियो । नामावली दर्तादेखि उम्मेदवारीको अन्तिम सूची प्रकाशनसम्म समितिले गरेका सबै काम विवादित रहे ।

मतदानको क्रममा इलेक्ट्रोनिक मेसिनले काम नगरेपछि ३/४ घण्टा लाइनमा बसेका मतदाताहरू आक्रोशित हुनु स्वाभाविकै थियो । नामावली दर्तामा पनि नेपालमै बसिरहेका र अरूको नाममा परिचयपत्र पाएका मतदाताहरू भेटिएपछि कुटाकुटको अवस्था समेत आइपरेको थियो । पछि सबैको समझदारीमा भिसा भएको पासपोर्टलाई मात्र परिचय पत्र मान्ने र अर्को दिन कागजी मतपत्रद्वारा मतदान गराउने कार्य भएको थियो ।

यसबाट पनि सचिवालयको निर्देशनमा निर्वाचन समिति धा“धली गराउन उद्धत रहेको पुष्टि भएको थियो । यसपटकको एनआरएनएको अधिवेशन स्थलमा पर्यवेक्षण गर्नेहरूले उक्त अधिवेशनलाई विद्यार्थी संगठनको चुनावको भन्दा तल्लो दर्जा दिएका छन् । त्यसैगरी, विकसित मुलुकमा बसेर पनि नेपाली संस्कार पटक्कै नत्यागेको र नेपालको चुनावभन्दा पनि तल्लो स्तरमा चुनाव भएकोले यो संस्थाको भविष्य यसैगरी चल्ने हो भने नदेख्नेहरू धेरै छन् । यस्ता अनेकौं विवादबीच सम्पन्न निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ ।

तर निर्वाचित नयाँ नेतृत्वलाई एनआरएनको साख बचाउन धेरै सुधार गर्नुपर्ने देखिएको छ । निर्वाचनमा झिनो मतले पराजित अध्यक्षको उम्मेदवार कुमार पन्तले विज्ञप्ति नै जारी गरी निर्वाचनमा धाँधलीको चरम नमुना भेटिएको, उच्छृंखल, अराजक गतिविधिहरू भएकोले आगामी दिनमा एनआरएनको साखलाई जीवित राख्न सबै सच्चिनुपर्ने माग गरेका छन् । साथै, पराजित भए पनि आफू एनआरएनलाई सुदृढीकरण गर्न यो अभियानमा सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Facebook Comments