रामेश्वरको स्मरण : पापीको पहिचान यसरी खुलेको थियो - eDeshantar News

रामेश्वरको स्मरण : पापीको पहिचान यसरी खुलेको थियो

माथवरसिंह बस्नेत

  • 19
    Shares

अघिल्लो भागबाट क्रमशः…

रामेश्वरजीका कुरा सुनेपछि मेरासमक्ष पनि एउटा संकट खडा भयो, त्यो के भने पार्टीका तर्फबाट कसैले त टिकट पाउँछन् नै, त्यसरी उम्मेदवार हुने व्यक्ति आफ्नै सहयोगी साथीभित्र परे भने चुनाव प्रचारमा जान पनि सहज हुन्छ, भविष्यमा पार्टी संगठनमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ, नत्र चुनाव पनि हार्ने, असहयोग गरेको आरोप पनि लगाइमाग्नुपर्ने हुन्छ भन्ने सोचेर भोलिपल्ट म प्रकाशमानजीकहाँ पुगें । भीड ठूलै थियो, तैपनि अरूको पालो मिचेर होइन, पर्खेर फुर्सदमा भेट गरें ।

प्रकाशजीको पहिलो प्रश्न थियो– दाइको जरुरी काम थियो कि ?

जवाफको बदला मैले अर्को प्रश्न गरें– भक्तपुरमा कसैले टिकटका निम्ति आश्वासन पाएका छन् ?
छैन । किन ? दाइको पनि चाहना छ ?

मैले गणेशमानजीको उही हात पसारेर भटमास माग्नेको कथा दोहोर्‍याएँ र चुनाव नलड्ने आफ्नो अठोटको कारण पनि सुनाएँ ।

अनि, कसलाई सघाउने विचार छ नि !

प्रश्न भुइँमा खस्न नपाउँदै मैले जवाफ थिएँ– रामेश्वर ढुंगेलजी । उत्तर दिन ढिला गरें भने कामै बिग्रेला भन्ने डरले सताएको थियो, शायद । थपें, क्षेत्रीय सभापति भएकाले मात्र होइन, कटुन्जेजस्तो ठाउँमा तीन पटक चुनाव जितेको अनुभव सँगालेका व्यक्ति भएकाले पनि अरूका तुलनामा जित्ने सम्भावना उनकै बढी छ ।

प्रकाशजीले पनि सही थपे– हो । जित्ने सम्भाव्य व्यक्तिमा उनको पनि नाम छ । उनको मन्द मुस्कानले पनि प्रमाणित गरेको थियो कि कांग्रेसले भरोसा गर्ने स्रोतबाट अन्यान्य नामसँगै त्यो नाम पनि केन्द्रमा आइसकेको रहेछ ।

वास्तवमा विभिन्न पार्टीका सम्भाव्य उम्मेदवारका नाम र जित्ने सम्भावना कति प्रतिशत छ, त्यसको विवरण, आ–आफ्ना पार्टीका अतिरिक्त राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र नेपाली सेनाका तर्फबाट बेग्लाबेग्लै संकलन हुने र सम्बन्धित पार्टीलाई उपलब्ध गराउने व्यवस्था भएकाले कांग्रेसका महामन्त्रीले त्यसको अध्ययन नगर्ने कुरै थिएन । उनको संकेत त्यतैतिर थियो ।

उनको मुस्कानको अर्को कारण चाहिँ सबैले आफ्ना लागि टिकट माग्छन्, माथवर दाइको स्तरका मानिस, जसको पार्टी र प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान छ, उसले आफ्ना निम्ति नमागेर अरुको नामको सिफारिस गर्नु बिनाकारण हुन सक्तैन, त्यो व्यक्तिमा विशेष प्रकारका गुण र क्षमता अवश्य हुनुपर्छ भन्ने लागेका रहेछ ।

पार्टीभित्रको राजनीतिक समीकरणमा रामेश्वरजीको निष्ठा र संलग्नतामाथि स्पष्ट हुन चाहेको जस्तो लागेपछि मैले उनको गुण र विशेषताका बारेमा छोटो परिचय यसरी दिएको थिएँ । त्यसो गर्दा मैले पनि आधा ठट्टा र आधा साँचो लाग्ने गरी भनेको थिएँ, हुन त उनी सबैका हुन् र कसैका होइनन् पनि । उनलाई “बेसारे बाजे” त्यसै भनेको होइन । त्यो भनेको उनी अरूजस्तो हुने होइन, अरूलाई आफूजस्तो बनाउन खोज्ने व्यक्ति हुन भनेको हो । उनी सबैलाई विश्वास गरेको देखाउँछन् तर कसैलाई पत्याउँदैनन् । चुनाव, सानो होस् कि ठूलो किन नहोस्, जित्ने कलामा उनी पारंगत छन् । उनलाई अहिलेसम्म कसैले चुनावी मैदानमा हराउन सकेको छैन, त्यसैले यसपालि पनि हार्दैनन् भन्ने धारण धेरैको छ ।

मेरो कुराको प्रभाव पर्दै गएको देखेपछि मनोबल पनि बढ्दै गयो । मैले भनें– उनीप्रति हाम्रो जिम्मेदारी पनि छ, प्रकाशबाबु । गणेशमान सिंह बाटिकाका कारणले अरूसँगभन्दा उनीसँग हाम्रो विशेष सम्बन्ध छ । बाटिकाको अवधारणादेखि गुरुयोजनासम्मका सबै काम उनकै पहल र अग्रसरतामा भएको हो । त्यस्ता व्यक्तिलाई टिकट दिलाउने काममा प्रकाशबाबुबाट पहल भएन भने अरू कसले गरिदिन्छ ? मैले सुरुमै कसैप्रति कमिटमेन्ट छ कि भनेर सोधेको कारण पनि यत्ति हो, महामन्त्रीजीलाई अप्ठेरो नपरोस् । संयोगले त्यस्तो कुनै अप्ठेरो रहेनछ । रामेश्वरजीलाई टिकट दिलाउनु भनेको गणेशमानजीको आत्मालाई शान्ति प्रदान गर्न सुभाषित पुष्पाहार चढाउनुजस्तै हो ।

मैले वाक्य पूरा पनि गर्न पाएको थिइनँ, प्रकाशजीले मलाई बीचमै रोकेर ल दाइ ! उनलाई तयारी गर्न भनिदिनोस् । दाइले यत्ति भावुक तुल्याएपछि मैले आफ्नो ठाउँबाट गर्नुपर्ने काम कसरी नगर्नु ? उनले कसैलाई भन्नुपर्ने अथवा सोध्नुपर्ने कुनै सर्त नराखी ठाडै त्यसो भन्नुको अर्थ थियो, जहाँ जति लड्नुपर्छ, लडेर म टिकट दिलाउँछु, धन्दा मान्नु पर्दैन ।

मैले त्यही साँझ भेटेर भनें– ल, बधाई छ । तयारीमा लाग्नु भन्ने प्रकाशजीको सन्देशसहित दिउँसो भएका सबै कुरा विस्तारपूर्वक राखें । आश्चर्य ! उनी जति खुसी हुनुपर्ने हो, त्यत्ति भएजस्तो लागेन । मैले कारण सोधिनँ, उनले आफ्ना मनका कुरा पनि खुलेर गरेनन् ।

भोलिपल्ट दिउँसो भेट्दा भने उनी प्रफुल्ल र पुलकित थिए । खुसी लुकाउन सकिरहेका थिएनन् । मैले कारण जान्न खोज्दा उनले भने, म बिहान सबेरै महामन्त्रीज्यूकहाँ भेट्न गएको थिए । भीडमा भेट्न सकिनँ । अफिसबाट निक्लेर घरभित्र पस्न लाग्दा मलाई देखेपछि रोकिएर सोधनी भयो– किन यहाँ ? आफ्नो काम गर्न छाडेर किन दौडिएको ? जानोस् भनेर दुई पटक टाउको हल्लाएर इशारा गरेपछि मैले कुरा बुझें । दादालाई धन्यवाद दिन भनेर पर्खेको, नत्र म आफ्नो काममा लागिसक्थें ।

त्यसको तीन चार दिनपछि टिकटको निर्णय भयो । महामन्त्रीले घुँडा धसेर लागेपछि कसैको केही चलेन, रामेश्वरप्रसाद ढुंगेललाई टिकट मिल्यो । ज–जसले टिकटको अपेक्षा राखेका थिए, तिनलाई केही असन्तोष भयो होला, तर कार्यकर्ता पंक्तिमा पार्टीले राम्रो निर्णय गर्‍यो भन्ने सकारात्मक सन्देश सञ्चारित भयो । सुरुदेखि नै जित्ने उम्मेदवारका रूपमा उनको पक्षमा चुनावी लहर चल्न थालेकाले कार्यकर्ताको मनोबल झन् बढ्नु स्वाभाविक थियो । उच्च मनोबलका साथ कार्यकर्ता परिचालित भएपछि आधा काम विरोधी पार्टीका कार्यकर्ताले गरिदिने रहेछन्, चुनाव त कांग्रेसकै उम्मेदवारले जित्लान्जस्तो छ भन्ने प्रचार गरिदिएर, त्यस्तो दृश्य पनि त्यही चुनावमा देखा पर्‍यो । अर्को, जनघनत्वका हिसाबले कटुञ्जे जिल्लाकै सबैभन्दा ठूलो गाविस थियो । त्यहाँका महिला मतदाताको एउटै नारा थियो– यसपालिको भोट पापीलाई । त्यसको अर्थ, पानी पिलाउनेलाई भनेको रहेछ । कुनै बेला कटुञ्जेमा खानेपानीको ठूलो अभाव थियो । आधा रातमा उठेर पँधेरामा लाइन बस्न जानुपथ्र्यो, गृहिणीहरूले । रामेश्वरले खानेपानी योजना सञ्चालन गरेर घरघरमा पानीको धारा पुर्‍याईदिएकाले उनको उपनाम “पापी” हुन पुगेको थियो । उनले निकटतम प्रतिद्वन्दीभन्दा चार हजार बढी मलते चुनाव जितेर आफूलाई सभासद् मात्र बनाएनन्, कांग्रेसलाई पनि संविधानसभाभित्रको सबैभन्दा ठूलो दल तुल्याउन महत्वपूर्ण योगदान गरे ।

त्यही जित र उपलब्धि, उनका लागि कुण्ठाजन्य अभिशाप तब बन्न पुग्यो, जब प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाले चुनावमा उनैसँग हारेका महेश बस्नेतलाई मन्त्री पदमा नियुक्त गरेर उनको तेजोबध गर्ने काम गरे । यद्यपि कोइराला नेतृत्वको त्यस बेलाको सरकार, कांग्रेस र एमालेको गठबन्धनको सरकार थियो, त्यसैले एमालेका कोटामा परेका मन्त्रालयका मन्त्रीको नामको सिफारिस गर्ने काम पनि एमालेकै थियो, तथापि निर्वाचन पद्धतिकै माखोल उडाउन हारेका व्यक्तिलाई मन्त्री नियुक्त गर्नु प्रधानमन्त्रीको नैतिक तथा सैद्धान्तिक कमजोरी थियो । भर्खरै चुनाव लडेर हारेको व्यक्तिलाई या त नियुक्त गर्नै हुँदैनथ्यो, गर्नै परे पनि आफ्नो पार्टीका जितेका सभासद्लाई पनि मन्त्री बनाउनुपथ्र्यो । ती दुवै विषयमा नेताबाट न विवेकसम्मत तरिकाको निर्णय भयो, न छलफल चलाएर सन्तोषजनक जवाफ दिने प्रयास भयो । त्यही तेजोबध र अपमानको कुण्ठा, अत्यधिक धूमपान र धूमपानको कारण मात्र बन्न पुगेन, प्राणघातक क्यान्सरको द्योतक पनि बन्न पुग्यो । अन्ततः त्यही रोगका कारण उनको २०७६, पुस १ गते निधन भयो ।

पार्टी, प्रजातन्त्र र देशका प्रतिको निष्ठापूर्ण समर्पण र बेदाग चरित्रका निम्ति भविष्यका पुस्ताले उनलाई सम्मानपूर्वक याद मात्र गर्ने छैन, निरन्तर प्रेरणा पनि प्राप्त गरिरहनेछ । उनको बैकुण्ठबास होस् ।

समाप्त

अघिल्लो भाग पढ्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

पापी देवता : रामेश्वरको स्मरण

 


  • 19
    Shares

Facebook Comments