‘युगको संघार’मा उभिएर - eDeshantar News

‘युगको संघार’मा उभिएर


घनेन्द्र ओझा
टीका आत्रेय नेपाली कविता र गजलका क्षेत्रमा परिचित नाम हो । पूर्वको इटहरीमा कर्मक्षेत्र बनाएर शैक्षिक र साहित्यिक विकासमा योगदान गर्दै आएकी आत्रेयको भर्खरै ‘युगको संघार’ गजल कृति बजारमा आएको छ । उनलाई र उनको गजलकृतिलाई सिर्जनात्मक उचाइको कामना गर्छु ।

गजल अहिले अत्यन्त लोकप्रिय बनेको छ, नेपाली साहित्यमा । सँगसँगै अत्यन्त विवादित विधा पनि बनेको छ गजल । यसका कारण अनेक होलान् तर प्रमुख कारण भनेको यसको शास्त्रीयताप्रतिको बेवास्ता हो । स्थापित र अग्रज भनिएका गजल स्रष्टादेखि उदीयमान वा सिकारुसम्मले गजलको शास्त्रीय पक्षलाई अध्ययन गरेर नभई रदिफ र काफियालाई मात्र महत्व दिएर रचना गरिरहेका छन, जुन वास्तविक गजलका लागि पर्याप्त तत्व होइनन् । कुनै रचना गजल बन्न रदिफ, काफिया, शिल्प, लय, उक्तिवैचित्र्यका साथै प्रभावकारी भाव पनि हुनु आवश्यक छ । यही कुरा नबुझिदिनाले वा बुझेर पनि बुझ पचाइदिनाले गजलमा विवाद भएको हो ।

सन्दर्भ ‘युगको संघार’तिरै । यस कृतिमा टीका आत्रेयले ८० वटा रचना संग्रृहीत गरेकी छन् । यस पुस्तकमा संग्रृहीत रचना विषयवस्तुका हिसाबले विविध विषय समेटिएका छन् । सामाजिक विचलन, सांस्कृतिक विकृति, राजनीतिक विसंगति, हिंसा, आतंक, द्वन्द्व आदिको चित्रण यस पुस्तकभित्रका शेरहरूमा पाइन्छन् । त्यसो त स्रष्टा स्वयंले भनेकी छन्– आफूले देखेको परिवेश, भोगेको समाज, अनुभूत गरेको अव्यवस्थालाई सिर्जनामा उनेकी हुँ भनेर । र, यिनका रचना पढ्दा पनि यो अनुभूति हुन्छ । हेरौं केही शेर :

छ रित्तो काख आमाको,
छ रित्तो काख माटाको
म आफ्नै काखमा फल्ने,
मलिलो देश खोज्दै छु । पृ. ९
……
देश यो सयौं वर्ष पछाडि छोडियो
बन्द, हडताल अनि झमेलाहरूमा । पृ. ११
….
बिर्सी नसक्नु छन नदी आँसुका
आँसुकै जंघार टेकेर हिँड्दै छु । पृ . १७

वास्तवमा अहिले गजलमा अत्यधिक भएको विवाद लयको हो । गजलको लयका लागि निश्चित छन्दहरू बनेका छन फारसी, उर्दु र हिन्दीमा, जसलाई बहर भनिन्छ । ती बहरहरू संस्कृतका पिंगल छन्दसँग समान पनि छन् । तर नेपाली गजलको प्रारम्भिक कालमा मोतीराम भट्टले बहर/छन्दमै गजल लेखिए पनि त्यसपछिका गजलस्रष्टाले बहर/छन्दलाई खासै महत्व दिएको पाइँदैन ।

पछिल्लो समय अर्थात् विक्रमको २०६० को दशकयता भने नेपाली गजलमा शास्त्रीयताको खोजीसँगै छन्द/बहरको व्यापक चर्चा भयो । छन्द/बहरमा गजल लेखन, प्रशिक्षण, अन्तक्र्रिया व्यापक हुन थाल्यो । नेपाली गजलको एउटा सचेत र सबल पुस्ता छन्द/बहरको प्रयोग र प्रशिक्षण अनि अध्ययनमा तीव्र रूपले लाग्यो भने केही पुराना र केही नयाँ स्रष्टा भने रदिफ, काफियामै अल्झिरहे ।

यस संग्रहका धेरैजसो रचना समआक्षरिक, केही सममात्रिक र केही शास्त्रीय छन्द/बहरमा यी रचना गरिएका छन् । शास्त्रीय छन्द/बहरको राम्रो ज्ञान भएर पनि टीकाले पूर्ण रूपमा छन्द/बहरमा रचना नगरी लोक, समआक्षरिक, सममात्रिक लयमा रचना गरेकी छन । हेरौं केही शेर :

नआए हुनेथ्यो कुनै चाड पर्व
बुबा खोज्न थाले कठै ! यी भुराले । पृ. १६
…..
थालमा ढिँडो पस्केर रुन्छन्
बेपत्ता सन्तान सम्झेर रुन्छन् । पृ. २३
……
परदेसिए युवा,
लाग्दै छ सरकारले युवालाई लगातार,
बेच्दै छ सस्तैमा । पृ. ५२

वास्तवमा गजलको आधारभूत तत्वमध्ये काफिया र बहर÷छन्द अनिवार्य मानिन्छन्– शास्त्रीयताका आधारमा भन्दा । र, छन्द/बहर बिनाका रचनालाई गजको शास्त्रीयताले गजल मान्दैन । यसरी हेर्दा नेपाली भाषामा प्रकाशित गजल भनिएका रचनामा धेरैजसो रचना गजल बन्न सकेका देखिँदैनन् । यही मेसोमा पछिल्लो समय आएको टीका आत्रेयको कृति ‘युगको संघार’ भित्रका रचनामा पनि शास्त्रीय पक्षको अध्ययन विश्लेषण गर्ने हो भने सबै रचना गजल नबन्न सक्छन् । यद्यपि, यी रचनाभित्रका भाव, शिल्प र प्रस्तुति शैली हेर्दा भने निकै ओजपूर्ण र प्रभावकारी लाग्छन् ।


Facebook Comments