महामन्त्री कोइरालाले भने– सबै मिलेर आगामी महाधिवेशनमा देउवालाई हराउनु पर्छ - eDeshantar News

महामन्त्री कोइरालाले भने– सबै मिलेर आगामी महाधिवेशनमा देउवालाई हराउनु पर्छ

  • 5
    Shares

झापा । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन् । झापाको विर्तामोडमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने पनि बताए । उनले भने्, ‘मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ। तर अब पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ।’

कोइरालाले आफूलगायत देउवाको विरोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई हराउन सकिने बताए ।

उनले भने, ‘सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई हराउन सकिँदैन।’

पार्टी सभापति भइसकेपछि गुट त्यागेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गुटलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ।

उनले भने, ‘जुन गुटलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गुट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उठ्नुपर्यो नि।’

देउवासँग पार्टीलाई अगाडि लैजाने सपना पनि नभएको महामन्त्री कोइरालाले बताए। उनले भने, ‘देउवासँग न पार्टी उँभो लगाउने सपना छ न राष्ट्रका लागि, चार वर्षसम्म म उहाँविरुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।’

आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने/नउठ्नेबारे निर्णय नगरेको पनि उनले बताए । देउवानिकट कांग्रेस नेता बालकृष्ण खाँडले भने अहिले पार्टीका नेताबीच आरोपप्रत्यारोपको समय नभएको बताए।

उनले भने, ‘अहिलेको सरकारले नागरिक अधिकार सङ्कुचन गर्ने खालको संविधानको प्रतिकूल विभिन्न विधेयकहरू अगाडि बढाइरहेको छ। पार्टीभित्रै एकआपसमा मतान्तर र पार्टीका नेताहरूलाई आरोपप्रत्यरोप गर्ने बेला अहिले होइन। यसले पार्टीलाई बलियो बनाउन सक्दैन।’ उनले आरोपप्रत्यारोपमा संलग्न नहुन सबै नेताहरूलाई आग्रह पनि गरे।


  • 5
    Shares

Facebook Comments