फूलमाथि तुसारो झार्दै निरासी - eDeshantar News

फूलमाथि तुसारो झार्दै निरासी

घनेन्द्र ओझा

  • 1
    Share

नारायण निरासी, नेपाली छन्दकविता, गजल र समालोचनामा तिखारिएको नाम हो । नेपाली भाषासाहित्यकै विद्यार्थी निरासीको साहित्यलेखन काव्यमा बढी चम्किएको पाइन्छ । काव्य, खण्डकाव्य, महाकाव्यदेखि फुटकर रचनासम्म यिनको लेखनी फैलिएको छ ।

विभिन्न शास्त्रीय छन्दको सबल र सफल प्रयोग गरेर सुन्दर काव्य रचना गर्ने खुबी निरासीमा देखिन्छ ।
‘तुसारो’ शब्द निरासीको प्यारो शब्द बनेको देखिन्छ । यिनको पहिलो कृति गजलकाव्य ‘तुसारोमा फुलेका फूलहरू, २०६४’, खण्डकाव्य ‘आँखाभरि तुसारो, २०७०’ देखि प्रस्तुत काव्य ‘फूलमाथि तुसारो, २०७५’ सम्म निरासीले ‘तुसारो’ शब्दमोह उत्तिकै देखाएका छन ।

भूमिकाकार प्रभाती किरणका अनुसार ’तुसारो’ प्रवृत्ति हो, समय हो, भोगाइ हो । प्रभाती भन्छन्, ‘हामी बाँचेको समय सत्ताको तुसारोले खाएको, धनको तुसारोले चुसेको, शक्तिको तुसारोले पोलेको अत्यन्त बीभत्स समय हो ।’ हो, यस्तै कुरूप, दारुण अनि बीभत्स समयको काव्यिक प्रस्तुति हो प्रस्तुत कृति ।

यस कृतिमा निरासीले ६३ वटा छन्दोबद्ध कविता संगृहीत गरेका छन् । विभिन्न विषयभाव समेटेर लेखिएका यी कविता पढ्दा मन साँच्चै आह्लादित हुन्छ, वर्तमानको चित्र आँखामा नाच्छ र पाठकलाई सोच्न बाध्य बनाउँछ । के यो हामीमाथि, हाम्रो समाज र देशमाथिको तुसारो हटाउन अब हामी आफैँ जुट्नुपर्दैन ?

कवि लेख्छन् :

सबतिर वन मास्दा जन्तु आरक्ष खोज्छन्
कति दिन अब बाँच्ने त्रासले ग्रस्त हुन्छन् ।
प्रकृति पनि उदासी बन्न थाल्दै छ आज
अति सरम हुने भो नागिँदा विश्वमाझ ।।
(पृ. ९७)

कविले प्रकृतिलाई मानवीकरण गर्दै मान्छेलाई स्वार्थी बन्दै गएको, अमानवीय बन्दै गएको बताएका छन् ।

बिचल्ली पन्छीको चिरबिरसँगै रुन्छ कविता
रहौँला के हामी रहन नसके देश जनता ।
भुलेका छन् मान्छे फगत किन हो स्वार्थ हठमा
दिँदै छन् मान्छेको बलि रगतको देवथलमा ।।
(पृ. १०३)

कविले प्राकृतिक, साहित्यिक, सांस्कृतिक विषय बिम्बद्वारा नेपालको चिनारी पनि दिएका छन् यस्ता पंक्तिमार्फत ।

शिखर सगरमाथा विश्वको माथ मेरो
जनकपुर यही हो जानकीको पँधेरो ।
प्रथम पद उचाले बुद्धले लुम्बिनीमा
सहिद रगत पोख्छन् वाग्मती गण्डकीमा ।।
(पृ. ११७)

कवि देशमा बढेको हिंसा, अन्याय, आतंक, अराजकता र अशान्तिप्रति दुखी छन् । उनलाई देशमा शान्ति र अमनचयन होस् भन्ने लागेको छ ।

मेलापात गएर साँझ घरमा फर्केन छोरो यता
बाटैबाट हरेर कुन्नि कसले चेली उडायो उता ।
आमाबा अति व्यग्रले छटपटी मूच्छा परे शोकमा
यस्तो दुर्गति फेरि देख्नु नपरोस् होस् शान्ति नेपालमा ।।

एक समय थियो– गद्यकवितालाई छन्दकविले गन्दैनथे, पछि गद्यकविताको प्रभाव बढेर आएपछि छन्दकविलाई गद्यकविले उसै गर्न थाले । पछिल्लो समय भने नेपाली काव्यसाहित्यमा गद्य र छन्द दुवै कविताका शैली उत्तिकै प्रचलनमा छन् । दुवैले एकअर्काको अस्तित्व स्वीकार गरेर नेपाली साहित्यलाई उन्नत बनाउन लागेका छन् ।
निरासी यसै समयका प्रभावशाली छन्दकविका रूपमा स्थापित छन् । उनको साहित्ययात्रा अझ सबल र उन्नत बनोस्, हार्दिक शुभकामना !


  • 1
    Share

Facebook Comments