नागरिक चेतनाका लागि अत्यावश्यक पुस्तक - eDeshantar News

नागरिक चेतनाका लागि अत्यावश्यक पुस्तक

  • 20
    Shares

नागरिक चतेना भनौं वा विवेकशीलता, हरेक राज्यका नागरिकका लागि अति आवश्यक कुरा हो । जहाँ नागरिक सचेत छन्, विवेकशील छन्, धैर्य छन् र जिम्मेवार छन्, त्यहाँको हरेक पक्षको विकास र उन्नति राम्ररी भएको हुन्छ ।

पहिलो विश्व भनेर चिनिने विकसित वा सम्पन्न राष्ट्रहरूको समृद्धि त्यसै भएको होइन, त्यहाँका नागरिकको आफैँप्रतिको, राज्यप्रतिको र समाजप्रतिको जिम्मेवारीबोधका कारण उनीहरू समृद्धिको सिँढी चढेका हुन् । जबसम्म कुनै पनि मुलुकका नागरिकमा दायित्वबोध हुँदैन अर्थात् आफू मानिस हुनुको अर्थमा, कुनै मुलुकको नागरिक हुनुको अर्थमा, कुनै समाजको हिस्सेदार हुनुको अर्थमा ‘मेरो पनि यस समाजप्रति, राज्यप्रति वा समाजका मानिसप्रति दायित्व छ’ भन्ने बोध हुँदैन, तबसम्म कुनै पनि समाज र राज्य समृद्ध बन्नसक्दैन । यसको उदाहरणका रूपमा हाम्रै देशलाई, हाम्रै समाजलाई हामीलाई नै हेरे पुग्छ ।

हामीकहाँ प्रकृतिले दिएका धेरै कुरा छन् । समृद्धिका आधारहरू प्रशस्त छन् तर हामीमा नागरिक चेतना वा विवेकशीलता भने अत्यन्त कम छ, जसका कारण हामीले हाम्रो समाज, राज्य र हामी आफैँलाई समृद्ध बनाउन सकेका छैनौँ ।

यही विषयमा लेखक शखेर ढुङ्गेलले पुस्तक तयार पार्नु भएको छ– ‘परिवर्तनका लागि विवेकशीलता ।’ उहाँले भन्नुभएको ‘परिवर्तन’ समाज, राज्य अनि व्यक्तिका हरेक पक्षमा सकारात्मक परिवर्तन हो । हाम्रो चेतना, सोच, व्यवहारमा सकारात्मक परिवर्तनको कुरा हो ।

मान्छे विवेकशील छ भन्ने मान्यता छ । विवेकशीलताका मापदण्डहरू पनि छन् । ती मापदण्डहरूभित्र रहेर मान्छेले व्यवहार गर्नुपर्छ भन्ने लेखकको आसय छ ।

प्रस्तुत पुस्तकले हरेक मानिसमा सामूहिक हितको भावना हुनुपर्ने, ‘आफू भलो त जगत् भलो’को धारणा नभएर त्यको ठीक विपरीत ‘जगत् भलो त आफ्नो पनि भलो’को धारणा हुनुपर्ने, सार्वजनिक हित र कल्याणका खातिर त्याग र धैर्य हनुपर्ने, इमान र नैतिकता नै मानिसको सर्वोच्च सम्पत्ति हने, कर्तव्य र कर्मलाई बिर्सन नहुनेजस्ता कुराहरूबारे उल्लेख गरेको छ ।

नागरिक चेतना वा विवेकशीलता भन्ने कुरा कुनै पनि व्यक्तिका लागि मात्र नभएर समाज र राज्यकै लागि निकै ठूलो सम्पत्ति हो । यही चेतना वा विवेकशीलताको अभावका कारण समाजमा, राज्यमा वा विश्वमा हिंसा, आतंक, द्वन्द्व, अराजकता, अन्याय, अत्याचार र शोषण भइरहेका छन् । थोरै मात्र पनि मानिसमा विवेकशीलता हुने हो भने जुनकुनै समाज आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षिक आदि तवरले निकै समृद्ध बन्न सक्छ ।
लेखकले यस पुस्तकभित्रका विभिन्न लेखहरूमार्फत् यो सन्देश दिन चाहनुभएको छ कि हामी मानिस हुनुको अर्थ विवेकशील र चेतनशील हुनु पनि हो । विवेक र चेतनाशून्य मानिसको समाज र राज्यमा कुनै योगदान हुनसक्दैन । र, समाज र राज्यलाई सकारात्मक योगदान गर्न नसक्ने नागरिक (मानिस) समाज र राज्यका निम्ति बोझसरह हुन्छ । यसर्थ लेखकको जोड आममानिसमा विवेकशीलता हुनुपर्छ भन्ने छ ।

लेखकले अनेक उदाहरणीय व्यक्तिहरू गौतम बुद्धदेखि महात्मा गान्धी हुँदै नेल्सन मण्डेला र अन्यको उदाहरण दिँदै हरेक मानिसलाई विवेकशील बन्न प्रेरित गर्नुभएको छ । यति मात्र होइन, विभिन्न मुलु क र त्यहाँका समाज अनि ती समाजका प्रणाली तथा ती समाजका विवेकशील/चेतनशील नागरिकका उदाहरण घटनावलीका रूपमा प्रस्तुत गरेर हामीलाई पनि त्यस्तै बन्न प्रोत्साहन पनि गर्नुभएको छ ।

पुस्तक पढिरहँदा हरेक पाठकले महसुस गर्न सक्छ– ‘ओहो, किन म यस्तो बन्न सकिनँ ? किन ममा यस्तो चेतना वा विवेकशीलता उत्पन्न हुन सकेन ?’

अनि गम्न सक्छ– ‘हो, अब ममा यस्तो चेतना वा विवेकशीलता विकसित गर्नु छ/गर्छु ।’

सरल भाषा शैलीमा अनेक उदाहरणसहित तयार पारिएको यस पुस्तकलाई हाम्रा विद्यालय तहमा सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गर्न सकिएमा यसले निकै सकारात्मक प्रभाव पार्नेछ भन्ने लाग्छ । भविष्यका कर्णधार नागरिक, आजका स्कुले विद्यार्थीमा नागरिक चेतना वा विवेकशीलताबारे ज्ञान दिनु निकै अर्थपूर्ण हुनेछ । सँगसँगै विभिन्न राष्ट्र सेवक कर्मचारी, व्यापारी, कानुन व्यवसायी, सञ्चारकर्मी, राजनीतिकर्मीहरूले पनि यस पुस्तकलाई सरसर्ती एक पटक पढिदिए भने पक्कै उनीहरूले आफूलाई परिवर्तन गर्न सक्छन् भन्न सकिन्छ ।


  • 20
    Shares

Facebook Comments