ढाँटेका कुरा काटे मिल्दैन,नपत्याए कम्युनिस्टलाई हेरौंः माथवसिंह बस्नेत - eDeshantar News

ढाँटेका कुरा काटे मिल्दैन,नपत्याए कम्युनिस्टलाई हेरौंः माथवसिंह बस्नेत


नेपाल कम्युनिस्ट पार्टी, जसलाई छोटोमा नेकपा भनिन्छ, जसले जनतालाई एकथरी कुरा गरेर अनि, आपस्तमा चाहिँ अर्को प्रकारको सम्झौता गरेर दुवैथरीलाई कसरी झुक्याउँदा रहेछन्, त्यसको उदाहरण अहिलेको त्यो पार्टीभित्रको शीर्ष नेतृत्वबीचको अन्तरविरोधबाट छताछुल्ल हुन पुगेको छ ।

जुन बेला नेकपा, एमाले र नेकपा, माओवादी दुवैले आफ्ना पहिचानका पुच्छर काटेर फाल्ने र नेकपाको मूल चौतारीमा जुटेको भ्रम छर्ने काम गरेका थिए, त्यसबेला पनि एकथरीले बाह्रबुँदे दिल्ली सम्झौतादेखि सुरु भएको कम्युनिस्ट पार्टीको लोकतन्त्रमा रूपान्तरणको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन त्यस बेलाको सहमति र सहकार्यको मुख्य एजेन्डा कार्यान्वयन गराउन त्यो गठबन्धन गराएको हो भनेका थिए ।

अर्काथरीले माक्र्सवादी र माओवादीको क्रेडेन्सियल काम नलाग्ने भएकाले त्यसलाई त्यागेर लोकतन्त्रवादी भएको प्रमाण पेस गर्न त्यो एकताको नाटक मञ्चन भएको ठोकुवा गरेका थिए । उनीहरूको त्यस्तो निष्कर्षको कारण थियो, एमाले भनेका एकीकृत माक्र्सवादी लेनिनवादीको संक्षिप्त नाम थियो र माओवादी भनेको माओवादी शैलीको क्रान्तिको द्योतक थियो । दुवै कट्टर कम्युनिस्ट थिए र उग्र भारतविरोधी पनि ।

महाकाली सन्धि अनुमोदनका सवालमा एमाले भारतका निम्ति पार्टी फुटाउनसमेत तयार भएको तथ्यले उसको भारत विरोध त देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएकै थियो, भारतसित सुरुङ युद्धको धम्कीदिने माओवादीका नेता १० वर्षको कथित् जनयुद्धकालमा साढे आठ वर्षसम्म त्यसका सुप्रिमो प्रचण्ड, नोयडाको वातानुकूलित फ्लाटमा बसेर बाह्रबुँदे सम्झौताको पृष्ठभूमि तयार गरिरहेका थिए, जसको स्वीकारोक्ति उनी आफैंले गरेपछि त्यो वास्तविकता पनि छर्लंग भएकै हो ।

त्यसअघि बाबुराम भट्टराईलाई प्रचण्डको ठाडो आदेशमा लालसेनाले रोल्पाको श्रम शिविरमा कैद गरेर क्रान्तिमाथि गद्दारी गरेको आरोपमा कारबाही चलाएर पार्टीबाट निष्काशित गर्न खोज्दा दिल्लीकै हस्तक्षेपबाट कारबाही फिर्ता मात्र लिनु परेको थिएन, उनलाई पार्टीको दोस्रो वरिष्ठ नेताको पदमा पुनर्बहाली पनि गर्नु परेको थियो ।

त्यस प्रकारका क्रियाकलापले उनीहरूको भारत विरोध जनताका आँखामा छारो हाल्न र चीनको साखुल्य बनिरहन अपनाएको रणनीति मात्र थियो । त्यो तथ्य, भारत र चीनले मात्र होइन, अमेरिकाले पनि बुझेको थियो, त्यसैले त उसले भारत र माओवादी गठबन्धनप्रति शंका र अविश्वास प्रकट गर्ने गरेको थियो । त्यस प्रकार भारतमाथि प्रत्यक्ष वा परोक्षमा माओवादीसँग लहसिएर आतंकवादप्रति दोहोरो मापदण्ड अपनाएको आरोप लागिरहेको थियो ।

उसलाई आफ्नो देशका माओवादीलाई आतंकवादी घोषित गरेर कठोर दमनमा उत्रने र नेपालका माओवादीलाई भने लोकतन्त्रवादीको पदवी प्रदान गरेर संरक्षण गर्ने नीतिले आतंकवादप्रति दोहोरो मापदण्ड किन अपनाएको भन्ने प्रश्न उठिरहेको थियो, जसको जवाफ दिन अप्ठेरो थियो । त्यसको एकमुष्ट जवाफका लागि पनि एमाले र माओवादीका बीचको मेल र एकता कायम राख्न आवश्यक मात्र होइन, अपरिहार्य भइसकेको थियो । किनभने उनीहरूलाई आफ्नो एजेन्डा बोकिदिने कम्युनिस्ट पार्टीलाई चुनाव जिताउनै परेको थियो ।

नेपालका कम्युनिस्टहरूलाई चुनाव जिताएर सत्तामा ल्याउनु भारतको संस्थापन पक्षको मात्र होइन, युरोपेली संघ र चीनको पनि निहित स्वार्थ बन्न पुगेको थियो । कांग्रेस निर्वाचित भएर सत्तामा आयो भने बाह्रबुँदे दिल्ली सम्झौताका आधारभूत एजेन्डा उल्टिन सक्ने शंका भारतको त्यो पक्षलाई थियो भने युरोपेली संघलाई धर्म निरपेक्षता हटेर पुनः हिन्दूराष्ट्र घोषित हुने भय थियो ।

चीनलाई जो जिते पनि भारत समर्थकले नै जित्ने हो, तैपनि कम्युनिस्ट नामको पार्टी जित्यो भने काम गर्न सजिलो हुन्छ भन्ने थियो । त्यसैले कम्युनिस्ट एकताका पक्षमा भारतको संस्थापन पक्ष, युरोपेली संघ र चीन सबै एकमत भएका थिए । भारतमा मोदी र भाजपा सरकारमा आउनुअघिदेखि नेपालका कम्युनिस्ट मित्रहरूको हित र उपयोगिता दुवै हेर्ने जिम्मा पाएको गुप्तचर संस्थाले त्यस्तो ऐतिहासिक एकताको सहजकर्ताको भूमिका लियो । अनि, दिल्ली सम्झौतापछिको अर्को अनहोनी घटना भयो । पहिले जो एकअर्कालाई गद्दार भनेर थाक्दैनथे, अब एकअर्काका ताडनहार बन्न पुगेका थिए ।

गोर्खाली जातिका बारेमा एउटा कहावत् निकै मसहुर छ, त्यो हो, घुच्चुकमा दनक दिएपछि मात्र बुद्धि फुर्छ, गोर्खालीको । तिनै गोर्खालीबाट नेपालीमा रूपान्तरित भएकाले बुद्धिका मामलामा माथिको कथन अहिले पनि लागू हुन्छ । भइरहेको पनि छ । अर्थात्, तुरुन्त कुरो नबुझ्ने, तत्कालको स्वार्थ हेर्ने र त्यसभन्दा पल्तिर केही नदेख्ने, घुच्चुकमा कसैले दनक दिएपछि मात्र गल्ती भएको चाल पाउने र लौ वा ! कुरो त त्यसो पो रहेछ भनेर पुर्पुरामा हात लगाउने ।

त्यस्तो दुश्चक्रबाट नेपालका सबै राजनीतिक शक्तिले कुनै न कुनै बेला गुज्रनै परेको छ । त्यसबाट कोही उम्किन सकेका छैनन् । त्यसमा धेरै पछुताउनु वा अफसोच मान्नुपर्ने पनि थिएन होला, यदि घुच्चुक हाम्रा नेताको र दनक चाहिँ पराईको नपरिदिएको भए ! बडो दुःखका साथ भन्नुपर्छ, त्यस मामलामा पनि हामी अभागी नै छौं, स्वाभिमान हुन सकेनौं, किनभने दनक अर्काको, घुच्चुक मात्र हाम्राको भइदिने गरेको छ ।

नेकपाका आधा अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादको एकीकरण भएर नेकपाको जन्म भएको घोषणा हुनु अगाडि अर्का आधा अध्यक्ष ओलीसँग जुन सम्झौतापत्रमा हस्ताक्षर भएको छ, त्यसमा प्रधानमन्त्री पदमा आलोपालो गर्ने प्रष्ट लेखिएको छ । त्यसको पुष्टि ओलीले पनि गरेका छन् । उनले भनेका छन्– दुई दल मिलेर नयाँ पार्टी बनाउँदा एउटा लिखत नै तयार गर्नुपर्छ भन्ने कुरा भयो, मैले हुन्छ, लेखेर ल्याउनोस्, म सहीछाप गरिदिन्छु भनेँ ! लिखत तयार पारेर ल्याएपछि मैले हेर्दै नहेरी हस्ताक्षर गरिदिएको हुँ । तर आलोपालोका कुरा मलाई याद छैन । त्यो भएको जस्तो पनि लाग्दैन ।

ओलीजस्ता बोलीबाटै गोली चलाउन सिपालु मात्र होइन, झूट पनि यति मीठो बोलेर… भन्ने किरण खरेलको गीतको बोलमा गोल गर्न सक्नेले आफूले सहीछाप गरेको कागजको पेटबोलीमा के थियो, त्यो याद नराख्नु भनेको हजम हुने कुरा होइन ।

त्यसैलाई ढाँटेको कुरा काटे मिल्दैन भनेको हो । हामी नभनौंला, नलेखौंला पनि, त्यो बेग्लै कुरा हो । तर हाम्रो टिप्पणी पढ्नेले पनि त पत्याउनु प¥यो नि ! प्रधानमन्त्रीजस्ताले बोलेका कुरामाथि अविश्वास गर्नु कसरी ? विश्वास चाहिँ कसैले पनि गर्न सक्तैनन् । गर्दैनन् । अनि भन्नु परेन, ढाँटेका कुरा काटे मिल्दैन भनेर !

एमालेको बहुदलीय जनवाद भनेको युरोपमा चलेको युरो–कम्युनिजमको फोटोकपी हो । त्यस्तै माओवादीको एक्काइसौं शताब्दीको जनवाद भनेको पनि कट एन्ड पेस्ट हो । अर्थात् दुवैले जनवाद छाडेका छैनन् । त्यसका प्रति उनीहरूको प्रतिबद्धता कायमै छ । के हो त्यो जनवाद भनेको ? त्यो भनेको कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवाद हो ।

सोभियत संघमा लेनिनले, चीनमा माओले, भियतनाममा हो ची मिन्हले, उत्तर कोरियामा किम इलसुङ र क्युबामा फिडल कास्त्रोले जस्तो कम्युनिस्ट पार्टीको एकदलीय शासन कायम गरेका थिए, त्यस्तै गर्ने भनेको हो । यति भनिसकेपछि नेपालका कम्युनिस्ट नाम गरेका प्राणीहरूले नेपाली जनतालाई बेवकुफ र मूर्ख ठानेर कसरी ढाँटिरहेका छन्, दोहो¥याइरहन पर्दैन ।

ढाँट्नुको पनि हद हुन्छ । माक्र्स, माओ र चारु मजुमदारलाई भारतसित लोकतन्त्र मान्ने सर्तमा १२बुँदे दिल्ली सम्झौता गरेर ढाँटेका मात्र होइनन्, धोका नै दिए । यता नेपालीलाई हामी अझै कम्युनिस्ट नै छौ, जनवाद ल्याउन कटिबद्ध छौं भनेर ढाँकिरहेका छन् ।

 


Facebook Comments