गान्धी र गणेशमानका उस्तै नियति ! - eDeshantar News

गान्धी र गणेशमानका उस्तै नियति !

  • 18
    Shares

नेपाल अहिले जुन युगमा छ, त्यो युगमा प्रवेश गर्ने ढोका २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताले खोलेको हो । त्यसले ३० वर्षदेखि नेपाली जनतामाथि लादिएको राजाको सक्रिय नेतृत्वको निर्दलीय पञ्चायतको अन्त्य गरेर बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापित गरेकाले त्यो ढोका खुल्न पुगेको थियो । त्यसपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले इतिहासमै पहिलो पटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक घोषित गरेको हो । त्यो जनआन्दोलन, नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको आव्हान र नेतृत्वमा भएको थियो र त्यसले सन् १८१६ को ब्रिटिस भारतसँग भएको सुगौली सन्धिपछिको पहिलो र एक मात्र त्यस्तो आन्दोलन थियो, जसको आव्हान, सञ्चालन र सम्झौता नेपालभित्रै भएको थियो र जसले मुलुकमा व्यापक परिवर्तन ल्याएको थियो ।

नेपालको एकीकरणपछि नेपालले अपनाएको राज्यप्रणाली मध्यकालीन सामन्ती राजतन्त्रमा आधारित थियो । त्यसमा जनता तत्वको कुनै भूमिका थिएन । राजपरिवारभित्र राजा, रानी र युवराजका पछाडि भारदारहरू विभाजित थिए । पजनी र नयाँ नियुक्ति वर्षको एक पटक हुन्थ्यो । यद्यपि पजनी प्रथा औपचारिक मात्र थियो, किनभने दरबारभित्र प्रभाव हुने कसैको पनि जागिर खोसिन्नथ्यो । जसको त्यस वृक्षमा टेक्ने र समात्ने हाँगा हुँदैनथ्यो, त्यसले भने पाएको अवसर पनि गुमाउँथ्यो । त्यसैले चाकरी र चाप्लुसी त्यो राज्यव्यवस्थाको अभिन्न अंग बन्न पुगेको थियो ।

नेपालको अंग्रेजसंगको युद्ध र सुगौली सन्धि, नेपालको आन्तरिक मामलामा भारतमा शासन गरिरहेको कम्पनी सरकारको ग्य्रान्ड डिजाइन थियो । त्यही सन्धिपछि अधिकार सम्पन्न अंग्रेज राजदूतले लैनचौरमा स्थायी राजदूतावास खोलेका थिए । राजपरिवारका सदस्य र भारदारका आपसी झगडाबाट फाइदा उठाएर राजनीतिक हस्तक्षेपको जाल फैंल्याउन त्यसैबेलादेखि सुरु भएको हो । प्रधानमन्त्री भीमसेन थापाले राजदूतको आगमनलाई रोक्न नसके पनि पाँडे र कुँवर जर्नेलहरूलाई लैनमा भेट्न र बोलाउने चलन रोक्न खोज्दा उनको हविगत के भयो र कसरी उनीहरूका समर्थक जंगबहादुर कुँवरको उत्थान नहुन्जेल हत्या, हिंसा र आतंकको लामो शृंखला चलाउन सफल भए भन्ने तथ्य, इतिहासमा रेकर्डेड भएकाले दोहोर्याइरहन आवश्यक छैन । कोतपर्वबाट जंगबहादुर कुँवर सत्तामा स्थापित भएपछि नेपालमा राजनीतिक स्थायित्व आएको र सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुर कुँवर आफैं लखनउ गएर कम्पनी सरकारलाई सघाएबापत उनले नयाँ मुलुक कहलाउने तराईको ठूलो भूभाग उपहारमा प्राप्त मात्र गरेनन्, अंग्रेज सरकारलाई नेपालबाट चाहिने जस्तोसुकै सेवाका लागि प्रधानमन्त्रीसँग सोझै सम्पर्क गर्ने, अरू कसैसँग सम्पर्क र सम्बन्ध राख्नु परे अनुमति लिएर मात्र गर्ने विधि लागू गरे । सुगौली सन्धिले नेपालले बेलायतबाहेक अरू विदेशीसँग सम्पर्क गर्न उनीहरूसँग अनुमति लिनुपर्ने सर्त लादेको थियो, जंगबहादुरले पनि आफूबाहेक राजासँगसमेत सोझै सम्पर्क राख्न प्रतिबन्ध लगाए । यथार्थमा राणाशासन १०४ वर्ष चल्न सकेको कारण त्यही बन्द अवस्था हो ।

२००७ सालको क्रान्तिको तयारी, आव्हान र सञ्चालन भारतभित्रबाट गर्नु परेको थियो– नेपालमा पार्टीमाथि प्रतिबन्ध भएकाले । राष्ट्रिय कांग्रेस, प्रजातान्त्रिक कांग्रेस र दुवैलाई मिलाएर नेपाली कांग्रेस मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी पनि भारतमै खुलेको थियो । त्यसैले त्यो क्रान्ति गर्ने त नेपाली नै थिए, त्यसको अनुगमन र नियन्त्रण भने प्रत्यक्ष वा परोक्षमा भारतले गरेको थियो । माओवादीको १० वर्ष लामो कथित् जनयुद्ध, बाह्रबु“दे दिल्ली सम्झौता र त्यसपछिको आन्दोलनको नियति पनि त्यही हुन पुग्यो, जे २००७ सालको क्रान्तिको भएको थियो । त्यसको सबैभन्दा ठूलो प्रमाण भएको छ, माओवादीका अध्यक्ष पुष्पकमल दाहालको त्यो वक्तव्य, जसमा उनले भनेका थिए– हामीले सोचेका थियौं, भारतलाई हामीले प्रयोग गरेका छौं तर परिणामले देखायो, उसले पो हामीलाई प्रयोग गरेको रहेछ ।

२०४६ सालको जनआन्दोलन, तसर्थ एक मात्र त्यस्तो अपवाद हो, जुन भारत भूमिको प्रयोग नगरी भएको थियो । त्यसको संयोजन, सञ्चालन र समापन नेपाल भित्रैबाट भयो । सम्झौता पनि नेपाल भित्रै भयो, कतै बाहिर जानु परेन । आधुनिक विश्वमा अन्तर्राष्ट्रिय जगत्को नैतिक समर्थन हुनु र त्यस्तो समर्थन उनीहरू आफैं नेपाल आएर प्रकट गर्नु एउटा कुरा हो, तर उनीहरूकै निगरानी र नियन्त्रणमा आन्दोलन गर्नु अर्को कुरा हो । त्यसको अर्को विशेषता के थियो भने राजसंस्थाको प्रयोग गरेर राजा महेन्द्रले खोसेको प्रजातन्त्र, आन्दोलनका दबाबमा राजा वीरेन्द्रले फिर्ता गर्नु परेको थियो । जनताको त्यो महान् विजय गणेशमान सिंहको नेतृत्वमा सम्भव भएको थियो । उनले प्रधानमन्त्री पद पनि अस्वीकार गरेर त्यागको अनुपम उदाहरण पेस गरेका थिए ।

विश्व इतिहासकै यो विडम्बना रहिआएको छ कि आफ्नो समयका महान् व्यक्तिलाई कुनै पनि देशले उचित सम्मान दिन सकेको छैन । टाढा जानु किन हाम्रै छिमेकी भारतका महात्मा गान्धीलाई हेरे पुग्छ । गान्धीकै नेतृत्वमा भएको अहिंस्रक आन्दोलनले बेलायतलाई भारत छाड्न र स्वतन्त्रता प्रदान गर्न बाध्य तुल्यायो, त्यही भारतका नेताहरूले बेलायतको देश टुक्र्याएर भारत र पाकिस्तानको विभाजन गर्ने प्रस्ताव अस्वीकार गर्न गान्धीले दिएको सल्लाह र सुझाव मानेनन् । उनले भारतको विभाजन गरेर पाकिस्तान बनाउने प्रस्तावको विरोध मात्र गरेनन्, मेरो लासमा मात्र त्यस्तो विभाजन हुनसक्छ भन्ने धम्की पनि दिए । सत्तान्ध कांग्रेसका नेताहरूले विभाजन स्वीकार गरे– मुस्लिमहरूका लागि पाकिस्तान बन्यो र हिन्दुहरूका लागि भारत । पाकिस्तानबाट हिन्दुहरू धपाइए निकाले र भारत पठाए, तर हिन्दुहरूले मुस्लिमलाई निकालेनन् । परिणाम यो भयो कि गान्धी आफैं एक हिन्दुबाट मारिए । पाकिस्तानका अतिरिक्त भारतभित्रका मुस्लिम पनि उसका निम्ति समस्या बनेका बनेकै छन् ।

नेपालमा पनि गणेशमान सिंहले प्रजातन्त्रको पुनस्र्थापनापछि राजनीतिक क्रान्ति सम्पन्न भयो, अब पालो आर्थिक क्रान्तिको हो भनेका थिए । आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्तिले स्थिरता र स्थायित्व प्रदान गर्न सक्तैन भन्ने उनको अनुभवजन्य धारणा थियो । युवा पुस्ताको जोस र जाँगरको ऊर्जा आर्थिक विकासमा लगाउनै पर्छ । काम र माम सबैले पाउनै पर्छ । आन्दोलनबाट आएको सरकारले युवा पुस्ताको त्यस्तो आकांक्षा पूरा गरेन भने प्रतिगामी र प्रतिक्रियावादीले तिनको दुरुपयोग गरेर प्रजातन्त्रलाई असफल सावित गरिदिनेछन् । त्यसका लाागि देशभरि बारुद बिछ्याउने काम सुरु भइसकेको छ । प्रजातन्त्रवादी शक्तिले युवा पुस्तालाई समेट्ने योजना र कार्यक्रम दिन सकेनन् भने कुनै पनि बेला परिवर्तनका नाममा दुस्साहसीहरूले त्यो बारुदको थुप्रोमा आगो झोस्न सक्छन् । त्यसपछिको विस्फोट रोक्ने सामथ्र्य हामीसित रहने छैन, आगो निभाइदिने नाममा अरूले अवसर छोप्नेछन् ।

जसरी भारतमा देशको विभाजन रोक्न गान्धीजीको धम्कीलाई कसैले सुन्न चाहेनन्, त्यसैगरी नेपालमा गणेशमान सिंहको चेतावनीलाई पनि न सरकार, न पार्टी दुवैको नेतृत्व दुवैले सुन्न्न चाहेनन् । कार्यकर्ता पंक्तिले पनि निष्ठाको राजनीतिको उनको आग्रहलाई ध्यान दिएर पार्टी र सरकारमाथि दबाब सिर्जन गर्ने काम गर्न सकेनन् । लामो कालपछि प्राप्त भएको सत्ता–स्वादको चस्काले त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र जोगाउनभन्दा सत्ता बचाउनतिर मात्र लागे । त्यसपछि जे भयो त्यो निकट अतीतको इतिहास भएकाले त्यसमाथि थप प्रकाश पारिरहन आवश्यक नपर्ला ।

अल्बर्ट आइन्सटिनले गान्धीका बारेमा भनेका थिए– भविष्यको पुस्ताले सायद पत्याउने छैनन् कि गान्धीजस्ता हाड र मासुले बनेका प्राणी कुनै बेला यो धर्तीमा जन्मेका थिए ।

नेपालका साहित्यकार तथा कवि देवीप्रसाद वनवासीले लेखेका छन्– भोलिको पुस्ताले गणेशमान सिंहजस्ता त्याग र बलिदानका अद्भुत कर्मयोगी नेपालमा जन्मेका थिए भन्दा पत्याउन र पचाउन मुस्किल पर्नेछ ।
हार्दिक श्रद्धाञ्जलि !


  • 18
    Shares

Facebook Comments