कांग्रेसभित्र तीनवटा प्रवृत्तिहरूको टकराव छ– चन्द्र भण्डारी (अन्तर्वार्ता) - eDeshantar News

कांग्रेसभित्र तीनवटा प्रवृत्तिहरूको टकराव छ– चन्द्र भण्डारी (अन्तर्वार्ता)

डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

  • 878
    Shares

नेपाली कांग्रेसभित्रको विवाद चर्किएर संस्थापन इतर पक्षले जिल्ला सभापतिहरूको भेला गर्नुपर्ने परिस्थिति कसरी उत्पन्न भयो ?

अहिले नेपाली कांग्रेसभित्र तीनवटा चिन्तन अगाडि बढेको छ । पहिलो चिन्तन, विधान जहाँसुकै जाओस् आफू शक्तिमा भएको बेला पार्टीलाई जसरी पनि क्याप्चर गर्नुपर्छ भन्ने । दोस्रो, भागबन्डा मिल्यो भने विधान मिचे पनि केही हुँदैन भन्ने । तेस्रो, जो सभापति हो वा जो निर्वाचित नेतृत्व हो, उसले आफ्नो काम गर्न पाउँछ तर विधानको संरक्षण र विकास गर्नुपर्छ भन्ने । अहिले यी तीनवटा विचारको द्वन्द्व हो भन्ने मलाई लाग्छ । जहाँसम्म सभापतिहरूको भेलाको कुरा गर्नुभयो, त्यो भेला हैन परामर्श हो । यस्तो बेलामा कुन तरिकाले जाँदा सबैभन्दा राम्रो हुन्छ भनेर जिल्ला सभापतिहरूलाई वरिष्ठ नेताले बोलाउनुभयो र उहाँहरूले जे सुझाव पार्टीका वरिष्ठ नेता, महामन्त्रीलाई दिनुभयो, त्यही सुझाव पार्टी सभापतिलाई पनि दिनुभएको छ । अहिले उत्पन्न परिस्थितिले पार्टीभित्र द्वन्द्वभन्दा पनि विचारको एउटा छलफल भएको छ, त्यसलाई यो कोणबाट हेर्नुपर्छ ।

तर बाहिर यस प्रकारको भेला वा विवादले राम्रो सन्देश त दिएको छैन । पार्टी करिब करिब फुटको संघारमा पुग्यो भन्नेसम्मको चर्चा बाहिर सुनियो नि ?

नेपाली कांग्रेसजस्तो पार्टी जसले सधैं लोकतान्त्रिक मूल्य र मान्यतामा अगाडि बढ्यो वा त्यो वैचारिक दृष्टिकोणलाई अगाडि बढायो, नेपाली जनतालाई रैतीबाट नागरिक बनायो, राजालाई एउटा सीमित घेराभित्र राख्नेदेखि गणतन्त्रसम्मको यात्रामा जुट्यो । त्यसले गर्दा अहिलेको अवस्थामा जनतामा वा यसका अनुयायीहरूमा पार्टी फुट्छ कि भन्ने शंका उत्पन्न हुन दिनु नेतृत्वको कमजोरी हो । नेतृत्वमा समयअनुसारको क्षमताको अभाव हो । अर्को कुरा, हामी पनि यो पार्टीमा भएको कारणले हामीले कुनै पनि हालतमा यो पार्टीलाई विखण्डन हुन वा फुट्न दिँदैनौं । यो हाम्रो प्रतिबद्धता हो ।

सभापति भेलापछि पार्टी नेतृत्वले निर्णय सच्याउने परिस्थिति बनेको हो त ?

हामीले पार्टी सभापतिज्यूसँग विभिन्न तरिका, विभिन्न माध्यम वा आफै पनि उपस्थित भएर यसको बारेमा छलफल गरेका छौं । वरिष्ठ नेतासँग पनि छलफल गरेका छौं । जिल्ला सभापतिज्यूहरूले पनि अत्यन्त राम्रो सुझाव दिनुभएको छ । तसर्थ समस्या समाधान हुन्छ भन्ने मेरो विश्वास छ । वास्तवमा भन्ने हो भने, यो कुनै समस्या हैन, व्यवस्थापन गर्न नसकेको मात्र हो । तसर्थ यसलाई अब हामीले राम्रोसँग व्यवस्थापन गरेर जान्छौ । यो कुरालाई सभापतिजीले पनि महसुस गर्नुभएको छ ।

सभापति भेलाले नेतृत्वलाई के सुझाव दियो ?

नेतृत्वलाई सबैभन्दा पहिलो सुझाव विधानको परिधिभित्र रहेर काम गर्नुपर्छ भन्ने दिएको छ । टिकट वितरणको बेला अवैधानिक काम गरियो । चाहे संसदीय बोर्डको गठन गर्दा होस् वा कार्यसम्पादन समिति बनाउँदा होस्, अवैधानिक काम गरेको कारणले समस्या भएको हो । त्यस कारणले विधानलाई टेकेर काम गर्नुस् भन्ने एउटा सुझाव दिनु भएको छ । दोस्रो, पार्टी भागबन्डामा लाग्नु हुँदैन, भागबन्डामा लाग्यो भने सही मानिसको सही ठाउँमा प्रतिनिधित्व हुन सक्दैन भन्ने सुझाव दिएको छ । भागबन्डा एकदम ठूलो महामारी रोग हो, यसले गुट र उपगुटलाई बढावा दिन्छ र पार्टीलाई अगाडि बढाउन दिँदैन भन्ने सुझाव दिएको छ । तेस्रो, देशमा अहिले संविधानको अपमान भइरहेको छ, भ्रष्टाचार बढेको छ, देशको सीमाहरू मिचिएको बेलामा राष्ट्रियताको मुद्दालाई पनि लिएर अगाडि बढेर संसद्लाई सशक्त बनाउनुपर्छ भन्ने सुझाव दिएको छ । चौथो, कांग्रेस अब महाधिवेशनमा जान लागेको हुनाले महाधिवेशनको समयतालिका, सक्रिय सदस्यता वितरणका कुराहरूमा निष्पक्ष, पारदर्शी र सर्वसम्मत तरिकाले निर्णय गर्नुपर्छ भनेर जिल्ला सभापतिज्यूहरूले सुझाव दिनुभएको छ ।

पुस ११ गते बसेको केन्द्रीय समितिले गरेको निर्णय कहाँनेर चित्तबुझ्दो रहेन ?

चित्तबुझ्दो र नबुझ्दो भन्दा पनि पार्टीभित्र पार्टीको विधानअनुसार निर्णय भए कि भएनन् भन्ने विषय महत्वपूर्ण छ । पार्टी महाधिवेशबाट निर्वाचित सभापतिले दुई महिनाभित्र विभागहरूको गठन गरिसक्नुपर्छ । चार वर्षको समयअवधि गुज्रदा पनि विभागहरू बन्न नसक्नुको कारणले अन्तिममा आएर बनाउनु हुँदैन, त्यसले महाधिवेशनमा प्रभाव पार्छ । दोस्रो, सभापतिकै नेतृत्वमा विधान बन्यो, जसले २८ वटा विभाग बनाउने भन्यो । अहिले सभापतिले ४७ वटा बनाउने भन्नुभयो । यो पनि विधानसम्मत भएन । तेस्रो, सक्रिय सदस्यता वितरण गर्न विधानका धाराहरू निलम्बन गरिएका छन्, त्यो आपत्तिजनक छ, विधान विपरीत छ । अर्को कुरा, महाधिवेशनको मिति अर्को फागनुमा गर्ने भनियो । आउँदो फागुनमा कार्यसमितिको अवधि सकिन्छ । अर्को फागुनमा मिति तय गर्दा बीचमा यदि कुनै प्राकृतिक विपत्त आइलाग्यो भने त पार्टी नै डिफङ हुन्छ, संवैधानिक रूपले नै पार्टी सिद्धिन्छ । त्यसकारण अन्तिममा महाधिवेशनको मिति राख्नु हुन्न । दुई तीन महिनाअगावै गर्‍यो भने, त्यसले बल्ल पार्टीलाई निकास दिन सक्छ । यदि त्यो बेलामा कुनै घटना घट्यो भने यति लामो इतिहास बोकेको पार्टी नै डिफङ हुन्छ । त्यसकारणले त्यस्तो जोखिम उठाउनु हुँदैन भन्ने धारणा हो ।

निर्वाचित केन्द्रीय समितिले गरेका निर्णयहरूलाई तपाईंहरूले चुनौती दिइरहँदा त्यो वैधानिक भएन भन्न त सक्नुहुन्न नि, हैन र ?

विधानविपरीत गएका कुराहरू अवैधानिक हुन् । वर्तमान अवस्थामा कुनै पनि कुरा बहुमतको आधारमा निर्णय गर्नु हुँदैन । अहिले हामी सदनमा सानो रूपमा उपस्थित छौं । सरकारले हरेक कुराहरू बहुमतको आधारमा पास गर्छ । यदि पार्टी सभापतिले आफ्नो पार्टीमा बहुमतको डन्डा चलाउने हो भने सदनमा वर्तमान सरकारले गरेका क्रियाकलापहरू, असंवैधानिक कुराहरूलाई नैतिक रूपमा हामीले कसरी प्रतिरोध गर्न सक्छौं ? कसरी विरोध गर्ने ? त्यसकारण नैतिक धरातलमा बसेर, जवाफदेही भएर सभापतिले निर्णयहरू गर्नुपर्छ भन्ने मान्यता हो । हो, बहुमतको पार्टी सभापति वा सरकारले काम गर्न पाउँछ तर ऊ विवेकशील हुनुपर्छ, पार्टीप्रति उत्तरदायी हुनुपर्छ । सरकार राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ ।

तर तपाईँहरुले यत्रो दबाब दिइरहँदा पनि सभापतिले निर्णय सच्याउने संकेत गर्नुभएको छैन । तपाईँलाई निर्णय सचिन्छ भन्ने लागेको छ ?

अब हुने महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुराको सुनिश्चितता सभापतिले गर्नुपर्छ । अब नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरिसक्यो । त्यसकारण धेरै विवादमा, भागबन्डामा, अन्तरद्वन्द्वमा जानु हुँदैन । हामी धेरै अन्तरद्वन्द्व वा धेरै विवादमा गयौं भने नेपालमा लोकतन्त्र रहँदा पनि रहन्न । त्यसकारण अब राष्ट्रिय मुद्दाहरू अगाडि बढाउने बेला हो । देशमा बढ्दो भ्रष्टाचार छ । देश डुबानमा परेका कुराहरू छन्, विषादी खानु परेका कुराहरू छन्, अहिले सिमानाहरू मिचिएका छन् । नेपाली कांग्रेसले यी कुराहरूको प्रतिनिधित्व गर्ने हो, ससानामा कुरामा अल्झिने हैन । कांग्रेसलाई इतिहासले दिएको दायित्व निर्वाहमा लाग्ने हो । अहिले एकदम कमजोर, समय परिस्थितिअनुसार नचल्ने नेताहरू भएको कारणले कांग्रेसमाथि र देशकै नेताहरूमाथि विभिन्न प्रश्नहरू उठेका छन् । त्यसकारण देश ‘नेसन फेल’को अवस्थामा पुगे जस्तो देखिएको छ । मैले भन्ने गरेको छु, नेपालमा लोकतन्त्रमा मन्दी आएको छ । तसर्थ व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाले आआफ्नो काम ठीक ढंगले गरेका छैनन् । यस्तो अवस्थामा फरक दृष्टिकोणले नेपाली कांग्रेसका नेताहरू जानुपर्छ भन्ने मेरो मान्यता हो ।

राष्ट्रिय राजनीतिका यति धेरै मुद्दाहरू छन् तर प्रतिपक्षले जनताका सवालहरू प्रभावकारी ढंगले उठाउन सकेनन् भन्ने गुनासो बढिरहेको छ । यस्तो अवस्थामा पनि नेताहरूले यसलाई नसुन्नुको पछाडि के कारण होला भन्ने लाग्छ ?

यस सन्दर्भमा दुई–तीनवटा कुरा छन् । नेपालको संसद्लाई हामीले जुन कल्पना गरेर संविधानतः बनायौं त्यो संसद्ले जनताको कुराहरू उठाउनुपर्ने थियो । हाम्रो जस्तो संसद्लाई बेलायती भाषामा हाउस अफ कमन्स भनिन्छ । संसद्ले जनताको कुरा उठाउन सकेन, राष्ट्रिय मुद्दाहरूको पहिचान गर्न सकेन । नेपालमा नाकाबन्दी भयो, भारतीय संसद्मा नेपालको नाकाबन्दीबारे ठूलो बहस भयो तर नेपालको संसद्मा सुवास नेम्बाङ सभामुख हुँदा पनि त्यो विषयमा बहस हुन सकेन । नेपालको तराई क्षेत्र डुबानमा पर्‍यो, त्यो कुरा पनि नेपालको संसद्मा मुख्य मुद्दा बनेर आउन सकेन । नेपालीहरूले विषादी खानुपर्ने भयो, त्यो मुद्दा पनि नेपाली सदनमा उठेन । अहिलेको संसद्मा मुख्य मुद्दाको रुपमा नेपालको सीमा मिचिएको कुराहरू उठ्नुपर्ने थियो । त्यो मुद्दालाई छल्नका निम्ति वर्तमान सरकारले सभामुख छैन भनेर संसद् नै रोकिराखेको छ । हामीभित्रको द्वन्द्व पनि त्यस्तै परिस्थितिको उपज हो कि भन्ने मलाई लाग्छ । एउटै प्रवृत्तिका, एउटै चिन्तनका, एउटै दृष्टिकोणका र एकै ठाउँ राति भेटाभेट हुने नेताहरू पार्टीमा छन् । उनीहरूले पार्टीभित्र झगडा पनि गराइदिन्छन्, सभामुख नबनाएर रोकी पनि दिन्छन । यो अवस्था हो नेपालको अहिले । त्यसकारण यसलाई जसरी हलुका तरिकाले छलफल गरेका छौं, बहस गरेका छौं, त्यसरी हेर्नु हुँदैन । तसर्थ मैले त भन्ने गरेको छु, कुनै पनि हालतमा, चाहे पार्टीभित्र होस् चाहे देशभित्र होस्, घरायसी कुराहरू घरमा बसेर गरौंला, को नेता बन्लान् त्यो पनि हेरौंला, राष्ट्रिय मुद्दाहरू पहिलो हुनुपथ्र्यो संसद्मा । संसद्मा नेपाली कांग्रेसले पहिलो चोटी आवाज उठाउँदै थियो, सीमा मिचिएको कुरा । हाम्रो सभापतिजीले नेपाल पाकिस्तान जस्तो बन्ने भयो भनेर पनि बोल्नुभयो, यो खुसीको कुरा हो । त्यसबारे बोल्न हामीले संसद्मा तयारी गर्दै थियौं तर संसद् नै कम्युनिस्टहरूले सभामुख छैन भनेर रोकिदिए । ठ्याक्कै अरुण बन्ने बेलामा रोकिएको थियो नि त्यसैगरी अहिले एमसीसीको बेलामा संसद् रोकिएको छ । आज देश अन्धकारमा जानु, हाम्रा युवायुवती अरबमा जानु, विकास नहुनु, अरुण नदीमा बिजुली निकाल्न नदिएर हो नि ! यदि ऊबेलामै अरुण बनेको भए हाम्रो देशका उद्योगधन्दाहरू उज्यालोमा जान्थ्यो नि । र अन्त्यमा आएर अरुण भारतलाई दिइयो । त्यसमा कम्युनिस्टहरूले भूमिका खेले । अहिले त्यसैगरी नेपालको लोकतान्त्रिक प्रणाली, नेपालको संसदीय पद्धतिलाई कमजोर गराउने काम भइरहेको छ । सदनमा मुद्दाहरू उठ्छन् भनेर कम्युनिस्टहरूले सभामुख नदिने काम भएको छ । त्यसकारण लोकतन्त्रवादीहरू ससाना कुरा वा झगडामा अल्झिनु हुँदैन ।

कांग्रेसभित्रको आन्तरिक किचलो पनि बाहिरी पक्षले खेलेर भएको हो भन्न खोज्नु भएको ?

त्यो टाइपका मान्छेहरू पार्टीमा जहाँसुकै छन् । त्यसकारण त्यसको पनि भूमिका हुन सक्छ । नभए जाबो यत्रो सानो इस्युमा झगडा गर्नुपर्ने थिएन । पार्टीमा यत्रो योगदान गरेका, जेल बसेका, त्याग गरेका मान्छेहरू सानो कुरामा लड्नु पर्दैन थियो नि ! कि त हामीमा अब त्यो त्यागको भावना छैन भन्नुपर्‍यो । जस्तो मानिस वृद्ध भइसकेपछि अन्तिममा कान्छो छोरा बुहारी च्याप्छ नि, त्यस्तै भयौं भन्नु पर्‍यो । अब हामी वृद्ध भइसक्यौं, हामीले सकेनौं, यो बुढेसकालमा मैले कसैलाई केही दिन चाहन्छु भन्नुपर्‍यो कि।!हैन भने यत्रो इतिहास बोकेको पार्टीका नेताहरू सानो कुराको लागि लड्नु भनेको त राम्रो हैन नि !

पार्टीभित्र वर्चस्व जमाउने इच्छाले पो काम गरेको हो कि ?

वर्चस्व चलाउन सक्ने क्षमता भएका नेता नेपाली कांग्रेसभित्र अहिले कमै छन् । अब परिवर्तनको आवश्यकता छ, नेतृत्व रूपान्तरणको आवश्यकता छ । त्यसकारण रूपान्तरणलाई थाम्न सक्ने क्षमता अहिले पदमा बसिरहेकाहरूसँग छैन ।

उसो भए तपाईंहरू कसैले पनि पार्टीलाई हाक्न सक्नु भएन, हैन ? केन्द्रीय समितिमा त तपाईंहरू पनि हुनुहुन्छ ?

यसलाई कसले कति अवसर पायो, अवसर पाएर कस्ले के गर्‍यो भन्ने कोणबाट हेर्नुपर्छ । मैले यस मानेमा प्रश्न उठाउने गरेको छु, जसले सरकार चलाउने अवसर पायो त्यो व्यक्तिको घर त बन्यो होला । नेताहरूले च्यापेका मान्छेहरू नेताहरूको अवशानपछि उनीहरूको सन्तानले जस्तैगरी घर बनाएका छन्, हालिमुहाली गरेका छन् । तर पार्टी त गरिब छ नि ! त्यसकारण समस्त भन्दा पनि जसले अवसर पाए, जसले पाएर पनि गरेनन्, तिनीहरूबाट फेरि हुन्छ भन्ने कुराको कल्पना गर्नु बेकार छ । यति मात्र कुरा बुझ्नुस ।

तपाईंहरू पनि पार्टीलाई सुधार्नको निम्ति र आफ्नो असन्तुष्टि जाहेर गर्न सडकमा उत्रेर सांकेतिक अर्थ दिन बुट पालिससमेत गर्नुभयो । पछिल्लो समयमा तपाईंहरूले पनि पार्टीभित्र सार्थक हस्तक्षेप गर्न सक्नु भएन नि, हैन र ?

मैले कुनै कुरामा असन्तुष्टि पोखेको हैन । अहिलेको विश्वको राजनीति कता जाँदै छ, विश्वको सिस्टम कतातिर लगिँदैछ, त्यसको आधारमा नेपालका राजनीतिक पार्टीहरूले के गर्दैैछन्, त्यसको मैले कुरा गर्न खोजेको हो । मैले गरेको बुट पालिसमा सांकेतिक कुरा के थियो भने कृष्णप्रसाद भट्टराईले आफ्नो काम आफैं गर्ने क्रममा आफ्ना जुत्ताहरूको पालिस आफैं गर्नुहुन्थ्यो, चाहे विदेश भ्रमणमा जाँदा होस्, चाहे स्वदेशमा हुँदा होस् । त्यसकारण सहिद दिवसका दिन हामीले सडकमा सानोभन्दा सानो काम आफैले गर्न सक्नुपर्छ, मालिक बनेर हुँदैन भन्ने सन्देश दिन बुट पालिस गरेका थियौं । किसानले मल पाएका छैनन्, जनताले औषधि पाएका छैनन्, खानेपानी पाएका छैनन्, शिक्षादीक्षा पाएका छैनन् तर हामी ठूलाठूला महल बनाउने काममा लागेका छौं । त्यसो गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको हो । वरिपरि ठूला भवन बनाउने, त्यसमा सुरक्षा निकायहरू राख्ने तर नेपालको सिमानामा सुरक्षा निकायहरू नराख्ने, यो प्रवृत्तिलाई अन्त्य गर्दै यो समयमा हामी सबैले दुःख गर्नुपर्छ भन्ने सांकेतिक अर्थ दिन खोजेको हुँ । असन्तुष्ट व्यक्त गर्ने भन्दा पनि असन्तुष्ट व्यक्त गर्ने टाइपको नेतृत्व हुनुहुन्न भन्ने पक्षमा छु । म वर्तमान नेताहरूसित कुनै पनि किसिमको असन्तुष्टि व्यक्त गर्ने व्यक्ति पनि हैन । मैले आफ्नो व्यक्तिगत चिन्तन लगाएर, मेरो चिन्तन र दृष्टिकोणमा अरूलाई कन्भिन्स गर्ने मान्छे हुँ ।

तपाईंले नेतृत्व रूपान्तरण हुनुपर्छ र अहिलेको नेतृत्वबाट पार लाग्दैन भन्ने कुरा गर्नुभयो । त्यस्तै महाधिवेशन पनि लागिसकेको कुरा गर्नुभयो । उसो भए अब चौधौं महाधिवेशनबाट कांग्रेसले कस्तो नेतृत्व पाउनुपर्छ ?

तपाईंले र तपाईंको मिडियाले फिलिपिन्समा ३४ वर्षीय केटी प्रधानमन्त्री भइन् भन्नुहुन्छ । तपाईंको मिडियाले इमानदार, दूरदर्शी भएका कारणले मलेसियामा ९३ वर्षका महाथिर पनि प्रधानमन्त्री भए भन्छ । अहिलेको भारतमा राप र तापले तताउँदा पनि चार वर्षको अवधिमा दिल्लीजस्तो ठाउँमा जनतालाई निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली, सरकारी स्कुल सबैभन्दा गुणात्मक भएको पनि तपाईंले सुन्नुभएको छ । अहिले नेपाल अस्तव्यस्त भएको बेलामा, लोकतन्त्र नै अब रहन्न कि भन्ने आशंका उब्जेको बेलामा कस्तो नेतृत्व चाहिन्छ ? यो प्रश्नको उत्तर खोज्ने तपाईंको पनि जिम्मेवारी हो, मेरो मात्र हैन । नेपालमा कस्तो नेतृत्व चाहिन्छ भन्ने सोच्ने तपाईंको पनि जिम्मेवारी हो नि ! सधैं एउटै व्यक्ति आएर एउटै व्यक्तिले पुग्छ र ? जनता सचेत नहुँदा अहिले कस्तो नेतृत्वले मुलुक हाकिरहेको छ । यो मुलुक अरबमा गएर बोरा बोक्ने युवायुवती जन्माउने मुलुक भएको छ नि त ! यो त संसारलाई स्वतन्त्र बनाउने, संसारको रक्षा गर्ने मुलुक हो नि ! त्यसकारण वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने, जनतालाई सम्पन्न बनाएर सम्पन्न हुने, जनताको आवश्यकता बुझ्ने, राष्ट्रको सुरक्षा गर्न सक्ने, प्रजातन्त्रको मूल्य मान्यतामा चल्ने नेतृत्व चाहिन्छ ।

कांग्रेसको जुन प्रणाली छ त्यो प्रणालीबाट नेतृत्व परिवर्तन वा रूपान्तरण हुन्छ भन्ने तपाईँलाई लाग्छ ?

यस्तै प्रणालीबाट नेतृत्व परिवर्तन हुने हो । तर हामीले एउटा गल्ती गरेका छौं, संविधान बनाउँदा । समावेशी र समानुपातिक भनेर ठूला गफ दियौं । त्यसले गर्दा नेताले आफ्नो मान्छे नियुक्ति गर्ने भए, केन्द्रीय समितिमा पनि सदनमा पनि । त्यसकारण नेता विवेकशील नहुँदा आफ्नो परिवार, आफ्नो गुट–उपगुट, असक्षमहरूको झुन्ड गराइदिने भए । यसले हामीमा लोकतान्त्रिक मूल्य मान्यता बोकेका राम्रो नेता आउने कुरामा अप्ठेरो भयो । संविधान त हामीले नै बनाएको हो । हैन भने सही मान्छे, सही ठाउँमा, सही तरिकाले आउने प्रणाली यही नै हो ।

अहिले कांग्रेसभित्रको झगडालाई गुट, उपगुटबीचको टकरावभन्दा अत्युक्ति होला र ?

मैले सुरुमै यसको जवाफ तीनवटा प्रवृत्तिहरूको कुरा गरेर दिइसकें । एकथरीले जसरी हुन्छ पार्टी क्याप्चर गर्ने, एकथरीले भागबन्डा गरेपछि विधान मिचिए मिचियोस् भन्ने, एकथरी काम गर तर विधानबमोजिम विवेक प्रयोग गरेर गर भन्ने । यी तीनवटा विचारहरूको टकराव हो ।

यस्तो प्रवृत्तिका बीचमा तपाईंहरूको भूमिका चाहिँ के छ ?

हामी यो विवाद समाधान गर्नपट्टी लागेका छौं । यसलाई निकास दिन पनि लागेका छौं । नेतृत्व रूपान्तरण गर्नुपर्छ भन्ने कुरामा पनि लागेका छौं । अब यसको निचोड के निस्कन्छ, त्यो महाधिवेशनले बताउँछ ।

भनेपछि तपाईंहरूको अन्तिम लक्ष्य कांग्रेसमा आमूल परिवर्तन र नेतृत्वको रूपान्तरण नै हो, हैन ?

त्योभन्दा अरू गरेर फाइदा पनि छैन । कांग्रेसमा मात्र हैन देशमै आमूल परिवर्तनको खाँचो छ । यो टाइपको नेतृत्वले अब देशलाई निकास दिन सक्दैन । यो टाइपको नेतृत्वले लोकतन्त्रको रक्षा गर्न पनि सक्दैन र देशको सुरक्षा गर्न पनि सक्दैन ।

अहिले देशमा जुन परिस्थिति देखिएको छ त्यसको प्रतिकार कांग्रेसले कसरी गर्छ ?

अहिलेको त सरकारै हैन । यो त खाने, कमाउने, ठग्ने झुन्डहरूको जमात जस्तो देखिएको छ । यसलाई हामीले जनतामा गएर जनतासित यी कुरा राखेर अहिले गरिने हरेक बदमासीहरू अर्को सरकार आउँदा कारबाही गरिनेछ, यसको छानबिन गरिनेछ, भनेर जनतासित जानुपर्छ, अहिलेको कांग्रेसले सदनबाट । कम्युनिस्ट पार्टीका साथीहरूले पनि यसमा पहल गर्नुपर्छ । अहिलेको बेथिति र मूल्यमान्यता विपरीतको कामलाई रोक्न भोलिको भए पनि हामीले डर देखाउनु पर्छ । तिमीले गरेका कामहरूबाट तिमी भविष्यमा अछुतो रहन सक्दैनौं, तिमीहरूको सन्तानबाट पनि राष्ट्रलाई ठगेको कुरा फिर्ता गर्छ है भन्ने सन्देश दिन जरुरी छ ।

  • देशान्तर साप्ताहिक

  • 878
    Shares

Facebook Comments